“चतुर खेलाडीहरु”

दुर्गाकिरण तिवारी, 

मैदानमा सानदार खेल चरिरहेछ
दर्शकहरू दुई खेमामा विभाजित छ्न्
निर्धा खेतालाहरू जस्तै
एकथरी मूक दर्शक बनेका छन्
अर्काथरी बलिया तर मोटाघाटा भएका
हनुमानले बुटी नचिनेर पर्वत उचाले जस्तै
मूर्खताको परिचय दिइरहेछन्
आफू खेताला भएको
खेल हेर्दै र कुर्ली कुर्ली ताली पिट्दै छन्
मूकतामा सत्य दबिएको छ
चिच्याहटमा उद्घोष छ असत्यको जितको
तर खेल निरन्तर चलिरहेको छ ।

नवबादशाहरू खेलको दौडमा अघि छन्
द्रव्य शाहले दगुरेर जितेको राज्यको धरोहर हो यो
मात्र ! दगुर्नुपर्छ भन्ने तिनीहरू बुझ्दछन्
र त दगुरेर उत्कर्षमा पुग्दै छन
मादले शिखर चुम्न आतुर खेलाडीहरूको
पक्षमा
दोस्रो झुन्ड समर्थकहरू ताली पिटिरहेछन्
वाह ! वाह ! को ध्वनिले रङ्गशाला गुञ्जायमान छ,
चतुर खेलाडीहरू
आफूलाई उत्कृष्ट साबित गर्न
होडबाजीमै मैदानमा इमान भुलेर
एकतमास जालझेलले खेल खेल्दै छन्
छक्कापन्जाको ।

बिचरा खेतालाहरू
आफै बिक्रीमा हारिरहेका छन् पत्तै छैन
आफ्नै अस्तित्व जुवाको खालमा दाउमा लगाएको
आफ्नै सुखशान्ति विखण्डित गरेको
अनन्त लालसा र व्यक्तिगत भोगका लागि
आत्माघातको विजयोल्लासमा
आफैंलाई नामेट पारेको
सायद उनीहरू बुझ्न सक्दैनन्
किनकि मूकहरू बोल्दैनन् र बोल्नेहरूको
हिजै ‘ब्रेन–वास’ गरिसकिएको छ ।

र त उनीहरू
आफू हारिरहेको देखेर पनि बुझ्दैनन्
सायद बुझ्नेहरू बोल्दैनन्
बादशाहरू जितिरहेछन्
मूकहरू हेरिरहेछन् टुलुटलु
बादशाहरू सत्य र अस्तित्व मेटाउने खेल खेलिरहेछन्।

मूर्खहरूको तालीपिटाइले रङ्गशाला गुञ्जायमान छ
म विवश नेपालीको वीरता र स्वाभिमानको
रक्तरञ्जित इतिहास पढिरहेकी छु
अनवरत पढिरहेकी छु ।

कास्की पोखरा 32 हाल काठमाडौ