९ वर्षीय बालक जो बेलायतमा साइक्लिङ्ग गरेर नेपालका लागि सहयोग जुटाउँदै छन्

लन्डन (जीएनएन) : बेलायतमा नेपाली मूलका एक ९ वर्षीय बालकले साइक्लिङ्ग गरेर नेपालको एक ग्रामीण विद्यालयका लागि सहयोग संकलन गर्न लागेका छन् ।

बेलायतको  बेक्स्लीमा आफ्ना माता, पितासंग बसी रहेका अमोल न्यौपानेले आफ्नो दशौँ जन्मदिनको अवसर पारेर २ महिना भित्र १,००० किलोमिटर साइकल चलाएर सहयोग रकम संकलन गर्न लागेको जीएनएनलाई बताए ।

संकलित रकमबाट नेपालको एक ग्रामीण विद्यालयमा अध्ययन गर्ने सामग्रीहरु  उपलब्ध गराउने बताए ।

५ कक्षामा अध्यनरत अमोलले  आफुले संकलन गरेको रकम राष्ट्रिय आविष्कार  केन्द्र मार्फत बालबालिकाहरुलाई अध्ययन गर्नको लागि अन्तरक्रियात्मक कम्प्युटराईज्ड सामग्री उपलब्ध गराउने सोच राखेको बताए ।

उक्त सहयोग राष्ट्रिय आविष्कार केन्द्रको सहयोगी संजाल फ्रेन्ड अफ न्याशनल इनोभेशन सेन्टर मार्फत  जाने र आविष्कार केन्द्र मार्फत विकास गरिएको प्रविधि प्रयोग हुने उल्लेख गरेका छन् ।

“सानै उमेरमा अमोलले समाज  सेवा गर्ने सोच राखेर शुरु गरेको यो अभियान ले अन्य बालबालिका लाई पनि सेवामूलक काममा लाग्न प्रेरणा मिल्ने मैले विश्वास लिएको छु।  उनका यस्ता स्वस्थ र रचनात्मक क्रियाकलाप लाई  हामी  परिवारजानले सक्दो सहयोग र प्रोत्साहन गरि रहेका छौं,” उनका पिता इन्जिनियर हरिकृष्ण न्यौपानेले भने  ।

यो लिंकमा गएर तपाईं पनि अमोलको प्रयासलाई हौसला प्रदान गर्न सक्नु हुन्छ :