हङकङमा ट्रान्जिट भिषाको माग गर्दै परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र

नेपाली कांग्रेस आवद्ध नेताहरुले नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्थाको माग गर्दै आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण गराएका छन् ।

‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपालीहरु रोजगारीका लागि मकाउमा रहेका छन् ।

मकाउदेखि काठमाडौं आउन र जान हालसम्म सोझो हवाई उडान नभएकोले रोजगारीका लागि मकाउ जाने र आउने युवाहरुले समस्या भोग्नु परेको भन्दै परराष्ट्र मन्त्रीलार्ई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको कांग्रेस संसदीय दलको कार्यलयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौं–हङकङ–मकाउ पायक र सहज पर्ने भएपनि सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था नहुदा समस्या हुने गरेकोले परराष्ट्र मन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू जानकार रहेकोले तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ, रामकृष्ण श्रेष्ठ सहितको टोली परराष्ट्र मन्त्री ज्ञवालीलाई भेट्न पुगेका थिए ।