संघभित्रको समस्या समाधान गरेर मात्र चुनावको मिति तोक्नुपर्छ : उपाध्यक्ष लामा

काठमाडौं (जीएनएन) : गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संघ भित्र उत्पन्न विवाद समाधान गरेर मात्र महाधिवेशन र चुनावको मिति तोक्नु पर्ने जनाएका छन्।

जीएनएनसंग कुरा गर्दै उपाध्यक्ष लामाले डेलिगेट्स विवाद समाधान नगरेर चुनाव गराउन सम्भव नहुने बताए।

उनले पहिले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) को बैठक बोलाउनु पर्ने र  त्यस पछि पदाधिकारी (ओबी) को बैठक बोलाए पछि मात्रै अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठक बोलाउनु पर्ने बताए।

२०१९-२१ कार्य समितिको पदावधि गत अक्टोबर महिनामै सकिएको भएता पनि महासचिव हेम राज शर्माले यही जनवरी  १५ तारिखमा आइसीसीको बैठक बोलाएका छन्।

उक्त बैठकमा संघको १० औं महाधिवेशन तथा आगामी चुनाव बारे छलफल गरिने जनाइएको छ।

संघको १० औं महाधिवेशनका लागि डेलिगेट्स छनोट सम्बन्धी विवाद चर्किए पछि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो।  मन्त्रालयले पटक पटक दिएका निर्देशन विरुद्ध अध्यक्ष कुमार पन्त अदालत पुगेका थिए।

संघ भित्र जारी विवाद बारे उपाध्यक्ष लामाले भने, ” अहिले संस्थाभित्र गुटवन्दी देखिएको छ. त्यसलाई हटाएर सबैलाई मान्य हुने समाधान खोज्नु पर्छ।”

जापान लगायतका मुलुकमा देखिएका समस्याहरु समाधान गरेर संरक्षक परिषदको अनुगमन र समन्वयमा निर्वाचन गराउनु पर्छ।  अहिलेकै स्थितिमा चुनाव सम्भव छैन र त्यस्तो चुनावले मान्यता पाउंदैन ,” उनले भने।

हाल अमेरिकामा रहेका उपाध्यक्ष लामाले जबर्जस्ती चुनाव गराउन खोजे त्यसले संस्थालाई विभाजनतिर लैजाने चेतावनी पनि दिए।

गत अक्टोबर महिनामा हुनु पर्ने संघको दशौँ महाधिवेशन र चुनाव अहिले सम्म अनिश्चित रहेको छ।