मकाउमा पोर्न भिडियो सेयर गर्ने ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ

एजेन्सी – मकाउमा ११ जना नेपाली पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोर्न भिडियो सेयर गरेको आरोपमा ११ जना सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेको हो ।

इन्टरपोलले मकाउमा मे र जुलाईमा फेसबुकमा बच्चाको पोर्न भिडियो सेयर गरेको भन्दै त्यहाँको प्रहरीलाई खबर गरेको थियो ।
दुई मिनेट २९ सेकेन्डको उक्त भिडियो नेपाली युवाहरुले फेसबुकमा सेयर गरेका थिए । उक्त भिडियोमा एक बालिकाले एक पुरुषसँग शारिरीक सम्पर्क राखेको देख्न सकिन्छ ।

सोमबार बिहान चार सुरक्षा कम्पनीहरूमा कार्यरत २१ देखि ३६ वर्षसम्मका ११ नेपाली सुरक्षा गार्डहरूलाई सोधपुछका लागि लगिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुको साथबाट ११ वटा स्मार्टफेन जफत गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये सात जनाले अपराध गरेको स्वीकार गरेका छन् ।