भारतमा तीन नेपाली मजदूरको हत्या

काठमाण्डौं – भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको गत शुक्रबार (कात्तिक ८) हत्या भए पनि ढिलो गरेर आइतबार मात्रै जानकारी मिलेको हो ।

बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिएका हुन् । हरे र बीरा सहदोर भाइ भएको जानकारी दिँदै उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको उनले बताए ।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको बोहराको भनाइ छ । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।