पर्यटनमन्त्री नै जब अष्ट्रेलियन प्रहरीको फन्दामा परे !

काठमाण्डौं – नेपाल भ्रमण बर्ष २०२० को अन्तर्राष्ट्रिय स्तरमै प्रचार गर्न भन्दै आगलागीका कारण आक्रान्त बनेको अष्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अष्ट्रेलियन सुरक्षाकर्मीको फन्दामा परेका छन ।

उसै पनि आगलागीका कारण चरम संकट भोगीरहेको अष्ट्रेलियामा नेपाल भ्रमण बर्षको प्रचारका लागि भन्दै गएका पर्यटनमन्त्रीको यो कदमको निकै आलोचना भै रहेको समयमा पर्यटनमन्त्रीको अर्को हास्यास्पद कार्य सार्वजनिक भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० को प्रचारका लागि भन्दै बिना अनुमति र्‍याली निकालेर पैदलयात्रीहरुलाई बाधा पार्ने देखिएको भन्दै पर्यटनमन्त्री भट्टराई सहितको टोलिलाई अष्ट्रेलियन सुरक्षाकर्मीहरुले चेतावनीको शैलीमा रोकेको जनाईएको छ ।

र्‍यालीमा पर्यटनमन्त्रीका अलावा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, गैर आवासीय संघका पदाधिकारी सहितको समूह रहेकोे थियो ।

मन्त्री बन्नु अघि निकै नै लोकप्रिय रहेका भनिएका भट्टराई मन्त्री बनिसके पछि भने विभिन्न गैरजिम्मेवार कार्यका कारण पछिल्लो समय निकै विवादित बन्दै गइरहेका छन ।