ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय अब ७ दिन बाँकी

दोहा : ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसनमा सहभागी हुने समय अब एक साता बाँकी छ । आगामी अप्रिल ३० तारिखसम्ममा आइडलमा सहभागी हुनका लागि आफ्नो भिडियो पठाउने पर्ने छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी थपिएको समायवधिभित्र भिडियो पठाउन अनुरोध गरेका छन् ।

रेग्मीले एक साताको समयको सदुपयोग गर्दै ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’मा सहभागी हुन चाहनेहरूलाई भिडियो पठाउन अपिल गरेका छन् ।

सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको र आगामी ३० अप्रिलसम्म डिजिटल अडिसनको समय रहेका रेग्मीले बताएका छन् ।

‘संगीत साधनामा लागेका सबै साथीहरूलाई मेरो अनुरोध छ, सकेसम्म चाँडै भिडियो पठाएर ग्लोबल एनआरए सिंगिङ आइडलमा सहभागी हुनुहोला, यो प्रतिस्पर्धाले तपाईंको गायन यात्रामा नवीन यात्रा प्रारम्भ हुने छ,’ रेग्मीले भने ।

यसैबीच, ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताएका छन् । यसअघि प्रथम पुरस्कारको राशी २ लाख रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।

ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् ।

विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनु पर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले पनि प्रवासमा रहेका नेपालीहरूलाई उत्साहका साथ प्रतियोगितामा भाग लिन आग्रह गरेका छन् ।