गैरआवासीय नेपाली संघ युरोपको क्षेत्रीय बैठक इटालिमा

रोम–गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा शनिबारदेखि सुरु भएको छ ।

स्थानीय इर्गिफ होटलमा भएको कार्यक्रम प्रमुख अतिथि तथा न्याय, कानुन तथा संसदीय मामिलामन्त्री भानुवक्त ढकालले उद्घाटन गरे ।
एनआरएन युरोपका संयोजक शिव बरुवालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक उड्यान सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका विभिन्न देशका राजदूतहरु जसमा अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लाथि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी, प्रदेश नम्बर १ का बसन्त बानियाँको सहभागिता रहेको छ ।

यस्तै गरी एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामाछिाने, शेष घले, संरक्षक रामप्रताप थापा, भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्य, होटल एसोशिसन अफ नेपाल हानका अथ्यक्ष श्रृजना राणा, उपााध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव बद्री, सल्लाहकार हेमराज शर्मासहित एनआरएनका विभिन्न तह र तप्का नेताहरुका साथै सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको छ ।
राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रममा शुभकामना मन्तब्य एनआरएन इटालीका अध्यक्ष दीपेश कुमार रेग्मीले दिएका छन् ।
‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवद्र्धन रहेको छ ।

यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।

यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।
यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ ।
नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भमा पनि बैठकमा घनीभूत रुपमा छलफल हुने बताइएको छ ।

बैठकअघि अगष्ट २ मा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका बिशिस्ट ब्यक्तित्व नेपाल सरकारका मन्त्री , नेपाल पर्यटन वर्षका २०२० का कार्यक्रम संयोजक , नेपाल पर्यटन बोर्ड का प्रतिनिधि गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थितिमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।
इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिने छ ।
गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र आफूले सिकेको ज्ञान सीप र क्षमताको सदुपयोगले मुलुकको समृद्धिमा हातेमालो गर्ने नीति लिँदै आएको छ ।