कोरोना प्रभाव: दुबईबाट लाखौं नेपाली कामदार जबर्जस्ती फर्काईदैं

काठमाण्डौं – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा रहेका नेपाली कामदारहरूलाई अनिवार्य रूपमा नेपाल फिर्ता गर्ने तयारी गर्दै त्यस्तो स्थितिको लागि तयार रहन नेपाल सरकारलाई आग्रह गरेको सार्वजनिक भएको छ ।

अवुधावीस्थित नेपाली दूतावासले यसको पुष्टि गर्दै नेपाल सरकारको श्रम मन्त्रालयलाई खबर गरि सकेको जनाएको छ । युएईका दुबई, अवुधावीसहितका ठाउँमा लाखौं नेपाली कामदारहरू कार्यरत छन् । त्यहाँ रहेका लाखौं नेपालीहरू अहिले सेल्फ क्वारेन्टाइनमा बसेको र रोजगारदाता कम्पनीले काम नगरेको अवधिमा तलब दिन नसक्ने र कोरोना संक्रमित भए उपचार गर्न नसक्ने भन्दै नेपाली कामदारहरूलाई नेपाल फर्कन मानसिक दबाब दिन थालेको समेत सार्वजनिक भएको छ ।

यता श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले भने कामदारहरूलाई अनिवार्य फिर्ता गर्नसक्ने रिपोर्ट युएईस्थित दूतावासले गराएको पुष्टि गर्दै ठूलो ठूलो समुहमा अनिवार्य रूपमा नेपाली कामदार फिर्ता गर्नुपर्ने अवस्था आए कसरी व्यवस्थापन गर्ने भन्ने गृहकार्य समेत थालिसकेको दावी गरेको छ । वैधानिक र अवैधानिक रूपमा युएई सहितका खाडी मुलुकमा करिब ५० लाख नेपाली कार्यरत रहेको बताइन्छ ।

श्रम तथा सामाजिक मन्त्रालयका अनुसार कामदारहरु रहेका मुलुकमा कार्यरत नेपाली राजदूतहरुलाई यसरी जवर्जस्ती कामदार फिर्ता गर्ने अवस्था आउन नदिन कुटनैतिक पहल गर्न निर्देशन दिइएको छ । त्यसैगरी नेपालका म्यानपावर कम्पनीहरुलाई आफूले पठाएका कामदारहरु लिने कम्पनीहरुसँग निरन्तर सम्पर्कमा रही यस्तो समस्या आउन नदिन निर्देशन दिइएको छ ।

‘मन्त्रालय र म्यानपावर कम्पनीबीच बैठक गरी यसबारे काम गर्न बैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा म्यानपावर व्यवसायीका प्रतिनिधिसमेत राखेर एउटा समन्वय समिति बनाइएको छ’, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार, ‘श्रम स्वीकृति पाएर पनि विदेश जान नपाएका र विदेशबाट फर्काइने खतरामा परेका कामदारहरुसंग निरन्तर समन्वय गर्न सो समितिले काम गर्ने छ ।’

यसैगरी मन्त्री यादवले बैदेशिक रोजगारसँग प्रत्यक्ष अप्रत्यक्ष रुपले जोडिएका विभिन्न १० वटा मन्त्रालयका सचिवहरुलाई बोलाई नेपाली कामदार कार्यरत मुलुकहरुबाट जवर्जस्ती फिर्ता गर्ने खतरालाई सम्बोधन गर्न के गर्ने भन्नेबारे आआफ्नो मन्त्रालयबाट कार्ययोजना पेश गर्न निर्देशन दिइएको बताए ।