कामचलाउ आइसीसीले कुनै पनि नीतिगत निर्णय गर्न मिल्दैन : डा श्रेष्ठ

काठमाडौं (जीएनएन) : गैर आवासीय नेपाली संघ जापानका पूर्व सल्लाहकार तथा अन्तरराष्ट्रिय कानूनविद् डा बलराम श्रेष्ठले कार्यकाल पुरा भै सकेको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले कुनै पनि नीतिगत निर्णय गर्न नमिल्ने जनाएका छन्।

जीएनएनसँग कुरा गर्दै डा श्रेष्ठले भने, “संघको विधानमा कार्यावधि सकिएको आइसीसीले आफ्नो कार्यकाल आफै थप्ने प्रावधान नै छैन।  त्यसमा पनि पुरानै आइसीसीको बैठक बोलाएर महाधिवेशन तथा निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णयहरु गर्न खोजिनु सरासर अवैधानिक काम हो। ”

२०१९-२१ का महासचिव डा हेम राज शर्माले बिहीबार एक इमेल पठाउदै आउंदो १५ जनवरी आइसीसीको बैठक बस्न लागेको सूचना आइसीसी सदस्यहरुलाई दिएका छन्। बैठकमा दशौँ महाधिवेशन तथा निर्वाचन सम्बन्धमा छलफल गरिने जनाइएको छ।

अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको आइसीसीको कार्यावधि गत १७ अक्टोबर मै सकिएको थियो।  तर त्यसको १ दिन पहिले बसेको आइसीसीको बैठकले आफ्नो म्याद ६ महिना थप गरेको दावी गरेको थियो।

महासचिव शर्माको इमेलप्रति प्रतिक्रिया जनाउंदै  हंगकंग बाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्य दिलिप गुरुङले लेखेका छन्, यो आइसीसीको कार्य काल पुरा भै सक्यो।  फेरी बैठक बोलाउनुको तात्पर्य बुझिएन।

यसै वर्ष २०२१-२३ का लागि नयाँ आइसीसी सदस्यहश्र निर्वाचित भै सकेका छन्।  उनीहरुलाई शपथ दिलाएर जिम्मेवारी दिनुको सट्टा पुरानै आइसीसीलाई क्रियाशील तुल्याउने काम विधान संमत र नीति संमत पनि नहुने जानकारहरु बताउँछन्।