एनआरएनए पोल्याण्डको अध्यक्षमा मित्रलाल पार्देले दिए उम्मेदवारी

पोल्याण्ड (जीएनएन) : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोल्याण्डको अध्यक्षमा मित्रलाल पार्देले उम्मेदवारी दिएका छन् ।

यूरोपेली मुलुक पोल्याण्डमा सन् २००८ मा एनआरएनए स्थापना हुँदा पार्देले सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी एनसीसी पोल्याण्डका संस्थापक महासचिव पनि हुन् । उनले एनसीसीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर पनि काम गरिसकेका छन् ।

सन् २००७ मा विद्यार्थीका रुपमा पोल्याण्ड गएका पार्दे हालसम्म एनआरएन अभियानमा सक्रिय छन् । पदमा नरहँदा पनि उनले एनआरएन अभियानलाई भने निरन्तरता दिइरहे । पोल्याण्डमा रहेका नेपालीहरुको सेवामा सक्रिय पार्देले यसपटक एनआरएनएको नेतृत्वमा रहेर नेपाली समुदायको सेवा गर्ने भन्दै उम्मेदवारी दिएका हुन् ।

No description available.

२०२१–२०२३ कार्यकालका लागि जुलाई १९ मा निर्वाचन हुँदै छ । पोल्याण्डमा करिव ८ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ । एनआरएनए पोल्याण्डले सन्चालन गरेको सदस्यता अभियानका क्रममा भने जम्मा ४८२ जनाले पञ्जीकृत सदस्यता लिएका छन् ।

संस्थापक महासचिव रहेर पनि लामो समयपछि मात्रै नेतृत्वमा दावी गरेका पार्देले एनआरएनको संस्थागत विकास र नेपाली समुदायको हितका लागि आफूले गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् ।

पार्देका कार्ययोजना

पोल्याण्डमा एनआरएन स्थापना भएको लामो समय बितिसके पनि अझै पनि संस्थागत विकास हुन नसकेको भन्दै पार्देले संस्थागत विकासलाई मुख्य अजेण्डा बनाएका छन् । पोल्याण्डमा रहेका आम नेपालीका बीचमा एनआरएनलाई पुर्याउँदै पोल्याण्डवासीलाई नेपाल चिनाउने उनको योजना छ ।

एनआरएनका सम्पूर्ण गतिविधि पोल्याण्डमा रहेका नेपालीहरुमा पुर्याउने र नेपालीहरुको तथ्यांक संकलन गरी अद्यावधिक गर्ने उनको योजना रहेको छ । ‘सबै नेपालीका बीचमा एनआरएनलाई पुर्याउनु छ र उहाँहरु सबै जनाको तथ्यांक लिनु छ,’ उनले भने, ‘पोल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई यो अभियानमा जोड्नु मेरो पहिलो काम हुने छ।’

एनसीसीको वर्तमान विधानले महिलाहरुको उपस्थितिलाई वन्चित गरेको भन्दै उनले अब विधान नै संशोधन गरी एक महिला उपाध्यक्ष र दुई जना महिला सदस्य अनिवार्य रहने व्यवस्था गर्ने उनले बताए ।

पोल्याण्डमा नेपालीहरु आउने क्रम बढेपनि नेपाली दूतावास नहुँदा नेपालीहरुले झण्झट बेहोर्नु परेको भन्दै उनले पोल्याण्डमा नेपाली दूतावास स्थापनाका लागि पहल गर्ने बताएका छन् । हाल जर्मनीस्थित नेपाली दुतावासले नै पोल्याण्ड हेर्दै आइरहेको छ ।

नेपाली भाषा, कला संस्कृति र परम्परा प्रवर्द्धन  गर्न कार्यक्रम आयोजना गर्ने, बालबालिका, युवा र महिला सशक्तीकरणका लागि अभियान सन्चालन गर्ने, पोल्याण्डमा कार्यरत नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीहरुको समन्वयमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सन्चालन गर्ने लगायतका विषय पनि उनले अगाडि सारेका छन् ।

अध्ययन भिसामा पोल्याण्ड आउने विद्यार्थीहरु  र रोजगार भिसामा आउनेहरुको सहयोगका लागि कार्यक्रम सन्चालन गर्ने उनले जनाए ।

पोल्याण्डले विद्यार्थी र रोजगार भिसामा आप्रवासीहरुलाई भिसा दिएपनि आप्रवासीका बारेमा पोल्याण्ड सरकारले लिएको नीति भने आप्रवासीका लागि अनुकूल छैन । आप्रवासीलाई सहज हुने गरी नीति बनाउन पोल्याण्ड सरकारको ध्यानाकर्षण गराउने कार्ययोजना पनि पार्देले अगाडि सारेका छन् ।

No description available.

एनआरएनदेखि पानी अभियानसम्म

पोल्याण्डमा लामो समय काम गरी हाल आफ्नै व्यवसाय सन्चालन गरिरहेका पार्दे नेपालमा ‘पानी अभियन्ता’ को रुपमा परिचित छन् ।

दाङको घोराही सुनपुरका स्थायी वासिन्दा मित्रलाल पार्देले सन्चालन गरेको ‘घरघरमा धारा होस्, खेतबारीमा सिञ्चाई होस्’ भन्ने उद्देश्यले उनले सन् २०१६ देखि सञ्चालन गरेको पानी अभियान केही वर्षमै सफल भएको छ ।

‘पोल्याण्डमा एनआरएनए अभियानमा सक्रिय रहेकै बेला नेपाल आउँदा आफ्नै गाउँमा खानेपानी र सिंचाइको समस्या भोगेपछि मैले पानी अभियान सन्चालन गरेको हुँ,’ उनले भने ।

No description available.

उनले व्यक्तिगत रुपमा सन्चालन गरेको अभियानका क्रममा झण्डै पचास लाख सहयोग संकलन भएको थियो भने सरकारले पनि सहयोग गरेको थियो ।

अहिले त गाउँमा पानीको समस्या छैन, खेतबारीमा पनि सिंचाइ हुन लागेको छ, उनले भने ।

चुनावी तयारी

एनसीसीको आगामी कार्यकालका लागि आउदो सोमबार (१९ जुलाई मा) चुनाव हुँदैछ ।

‘चुनावको तयारीका क्रममा समर्थकको उत्साहजनक साथ पाएको उनले सुनाए । साथीहरुको प्रतिक्रियाबाट उत्साहित छु,’ उनले भने ।

कार्य समिति र आइसीसी सदस्यका लागि चुनाव हुने निश्चित भएको छ । पार्देसँगै अध्यक्षमा जीवन केसीले प्रतिष्पर्धा गर्दै छन् भने एक जना आइसीसी सदस्यमा टोपबहादुर गैरे क्षेत्री र गोपाल राईले उम्मेदवारी दिएका छन्  ।

निर्विरोध नभएपनि मित्रवत प्रतिस्पर्धा भएको पार्देले सुनाए । राजनीतिक आस्थाका आधारमा नभई व्यक्तिगत आधारमा नै चुनावी प्रतिस्पर्धा चलेको उनले बताए ।

एनआरएन पोल्याण्डको स्थापना, नेपाली समुदायको हितमा हालसम्म गरेको योगदान र गरेको सहयोगका आधारमा पोल्याण्डवासी नेपाली समुदायले आफूलार्ई विजयी बनाउने पार्देले विश्वास व्यक्त गरे ।