एनआरएनए पोर्चुगलमा कांग्रेसको बर्चश्व, अध्यक्षमा गैरे निर्वाचित

काठमाण्डौं – गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रीय समन्वय परिषद् पोर्चुगलको अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनमा काग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए।

आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद् सदस्यमा कांग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए। संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भएका छन् । सन् २०१९–२१ कार्यकालका लागि अध्यक्षमा कांग्रेसका उम्मेदवार तिलकप्रसाद गैरेले ३ मतान्तरले संयुक्त गठबन्धनका उम्मेदवार इश्वर रिजाललाई पराजित गरे। त्यस्तै, बरिष्ठ उपाध्यक्षमा कांग्रेसका भिमसेन थापा चुनिए। उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए।

दुई उपाध्यक्षमा कांग्रेसका अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भए। उनीहरुले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेद्वार गणेश पाण्डेयलाई पराजित गरे। महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुबेदी चुनिए । कांग्रेसका उम्मेद्वार प्रकाश कडरिया पराजित भए। कोषाध्यक्षमा कांग्रेसका बिक्रमजङ कुँवर र युवा सम्योजकमा कांग्रेसकै दिनेश भण्डारी बिजयी भएका छन्।

यस अघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला सम्योजकमा सुशीला थापा, सचिबमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए। कार्यसमितिका १५ सदस्य पनि निर्विरोध भए । मतगणनापछि आयोजित समारोहमा नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे भने संघका अन्तराष्ट्रीय परिषद् उपाध्यक्ष कुल आचार्यले सपथ ग्रहण गराए।

पोर्चुगलमा नेतृत्व सहित यति धेरै पदमा निर्वाचन भएको पहिलो पटक हो घोषणा समारोहमा कांग्रेसका नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपाली पन र सेवा भावका आधारमा काम गर्न सुझाएका छन् ।

उनले गैर आवासीय नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन आग्रह गरे। त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवासीय नागरिकता मुद्दा र संघले गरिरहेका प्रयास बारे जानकारी दिए। उनले संघको नेतृत्वको लागि दाबी गर्दै सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदुत मकर हमालले नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको बताउउदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे। करिब २५ हजारको संख्यामा नेपाली पोर्चुगल रहेको अनुमान छ। संघमा भने करिब २१ सय सदस्य छन्। ती मध्ये १३९८ सदस्यले मतदान गरेका थिए।