एनआरएनए जापानको कोषाध्यक्षमा कालिका थापाको उम्मेदवारी

काठमाण्डौं – जापानमा एनआरएनएको अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी दिने क्रम पनि जारी छ । यसैबीच एनआरएनए जापानको कोषाध्यक्ष कालिका थापाले आफू पुनः कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन ।

थापाले आफ्नो फेसबुकमार्फत विज्ञप्ति जारी गरी उम्मेदवारी घोषणा बारे जानकारी दिँदै उम्मेदवारी घोषणा गरेकी हुन । ‘वर्तमान कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी समाल्दै गर्दा एउटा योजना लिएर गएको थिएँ तर बीचमा आएको विभेदरुपी ठेसका कारण बुझ्ने र बुझाउने कमीकमजोरी भएकोले म लगभग सात महिना जिम्मेवारीबाट बाहिर बस्नु पर्यो । तसर्थ केही गर्छु भनेर गएका नवीन सोचहरु पनि हठाथ निस्कृय बने । यसरी पहिलो कार्यकालमा आफ्ना योजन साकार पार्ने कार्यमा व्यवधान पुगेकै कारण विभिन्न नवीन योजनासहित आगामी कार्यकालको निम्ति कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदैछु ।’

विभिन्न सामाजिक संघसस्थामा विगतमा काम गरेको अनुभव र दुईवर्षे कार्यकालमा आफूले संगालेको अनुभवले आगामी कार्यकाल सहज गराउने थापाको दावी छ। थप सक्रियता र योजनाका साथ आगामी २ वर्षे (सन् २०१९-२०२१) कार्यकालमा कोषाध्यक्षको रुपमा संस्थाको कोष वृद्धिमा विशेष ध्यान दिने थापाको भनाई छ ।

८० हजार नेपाली रहेको जापानमा थोरै महिला मात्र सामाजिक काममा सक्रिय रहेको परिवेशमा थापा सामाजिक काममा सक्रिय, निडर एवम् प्रष्टवक्ताको रुपमा परिचित छिन ।

GB