एनआरएनए अध्‍यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाण्डौं – गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्‍यक्षमा बेलायत निवासी व्‍यावसायी कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले संघको नवौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा गर्दै उनले भने ‘म एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेँ । त्‍यसपछि एनआरएन युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा हुँदै अध्यक्षको जिम्मेबारी समेत निर्वाह गरेँ । त्‍यसपछि अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा विजयी भएँ । अब केन्द्रीय अध्यक्षमा उम्‍मेदवारी दिने निर्णयमा पुगेको छु ।’

उनले गैर आवासीय नेपालीहरुको समस्‍यालाई मध्यनजर गर्दै उनीहरुको लागि कार्ययोजना ल्‍याउने आफ्नो तयारी रहेको बताए । उनले अबको आफ्नो उम्‍मेदवारी नेपालीहरुको समस्यालाई समाधान गर्न र कुनै स्वार्थमा नलाग्‍न भएको जिकिरसमेत गरेका छन् ।

उनले अब आउने चुनावमा कुनै पनि परिवार, नातावाद, कृपावाद, लोभबाट ग्रसित हुन नहुने र नेतृत्व तन्दुरुस्त हुनुपर्ने बताए ।