आइएफजेको नयाँ अध्यक्षमा डोमिनिक प्राडाली

डिल्ली अम्माई/मस्कट

फ्रान्समा लामो समयदेखि पत्रकारिता गर्दै आएकी महिला पत्रकार डोमिनिक प्राडाली अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) को अध्यक्षमा निर्वाचित भएकी छन्। नेशनल युनियन अफ जर्नलिस्टकी सदस्य रहेकी उनी २ जुन २०२२ मा ओमानको राजधानी मस्कटमा भएको ३१ औं अन्तर्राष्ट्रिय पत्रकार महासंघको महासभाबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। महासभा भन्दा अगाडी मोरक्कोका युनेस मजाहेद आइएफजेका अध्यक्ष थिए।

फ्रान्सेली सार्वजनिक प्रसारण ORTF देखि फ्रान्स टेलिभिजनमा काम गरिसकेकी डोमिनिक प्राडाली “फ्रान्स दुई” मा रात्रिकालीन समाचारको मुख्य सम्पादक समेत रहेकी छन् ।

पत्रकारको रूपमा काम गर्दै जाँदा डोमिनिक प्राडाली स्वैच्छिक रुपले प्रेस संगठनका गतिविधिहरूमा पनि संलग्न भइन्। विशेष गरी, उनले फ्रान्स टेलिभिजन – स्टाफ प्रतिनिधिको कार्यपरिषद सदस्य र कम्पनीको युनियन प्रतिनिधि भित्र पत्रकारहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन।

आफ्नो संगठन (इले डे फ्रान्स) भित्र, उनी क्षेत्रीय र केन्द्रिय तहमा महासचिव तथा कानुनी र अन्तर्राष्ट्रिय मुद्दाहरूको पैरवीको भूमिकामा रहिन भने २०२१ मा  फ्रान्सको राष्ट्रिय पत्रकार संघ (SNJ) को प्रवक्ताको रूपमा निर्वाचित भएर काम गरेको अनुभव संगालिन् ।

उनी हाल फ्रान्सको राष्ट्रिय पत्रकार संघमा सभासद रहेकी छन् भने आइएफजेमा  सन् २०१६ मा एञ्जर्समा  भएको महासभादेखि लगातार कार्यकारी समितिको सदस्य रहंदै आएकी थिइन्।

त्यस्तै उनी २०२१ सम्म व्यावसायिक पत्रकारहरूको परिचय पत्रको उच्च आयोगको सदस्य समेत रहेकी थिइन। अहिले पनि पत्रकारिता आचारसंहिता र मध्यस्थता परिषद् (CDJM) को सहकोषाध्यक्ष भएर काम गरिरहेकी छन् ।

सन् १९२६ मा पेरिसमा अन्तराष्ट्रिय पत्रकार महासंघको गठन भए देखि हालसम्म यो महासंघले दुई पटक मात्र महिला अध्यक्ष पाएको छ,त्यसमा पहिलो महिला अध्यक्ष बेल्जियम पत्रकार मिया डोरनार्ट (१९८६-१९९०) रहेकी छन् भने डोमिनिक प्राडाली दोस्रो महिला अध्यक्ष हुन्।

उनको कार्यकाल सन् २०२६ सम्म रहने  छ र उनैको कार्यकालमा यो महासंघले आफ्नो सय बर्षको शताब्दी उत्सव मनाउने छ।