अस्ट्रेलियाको भिक्टोरिया राज्यमा १४६ नेपालीलाई कोरोना

मेलबर्न– अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १ सय ४६ जना नेपालीलाई कोरोना सङ्क्रमण भइसकेको छ।

अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत अगष्ट २ तारिखसम्म भेटिएका सङ्क्रमित नेपालीहरूमध्ये ४२ जना निको भइसकेको तथा १ सय ४ जना अझै सङ्क्रमित अवस्थामैं रहेको भिक्टोरिया राज्यको अवैतनिक महावाणिज्यदूतको कार्यालयले जनाएको छ।

सङ्क्रमित नेपालीमध्ये एक हुन् एनआरएनए भिक्टोरियाका युथ कोअर्डिनेटर तथा रजिष्टर्ड नर्स बबिन मिश्र। मेलबर्नको रिजरभोयर निवासी उनी विगत आठ दिनदेखि मेलबर्नको एक होटलमा क्वारेन्टिनमा बसिरहेका छन्। सामाजिक काममा उत्तिकै सक्रिय मिश्र कोरोना पोजेटिभ देखिँदैमा कोही पनि आत्तिन नहुने सल्लाह दिन्छन्।

उनी भन्छन्, ‘सारा विश्व अहिले कोरोना महामारीको अवस्थामा छ। त्यसैले पोजेटिभ नतिजा आउँदैमा सारा आकाश मैंमाथि थिचियो भन्ने भावनाबाट मुक्त भएर आफ्नो सम्पर्कमा आएका मानिसहरूलाई तुरुन्तै आइसोलेसनमा जान सल्लाह दिएर कोरोना परीक्षण गर्न सुझाव दिनु पर्दछ। नेपाली समुदायमा पोजेटिभ नतिजा भएपछि लुकाएर राख्ने प्रचलनले पनि सङ्क्रमणको अवस्थालाई अझ भयाभह बनाइरहेको छ। हामी सबैले यसबाट छुटकारा पाउन जरूरी छ।’

कोरोना सङ्क्रमित नेपालीको सहयोगार्थ भिक्टोरियाको महावाणिज्यदूतको कार्यालयसहित एनआरएनए अस्ट्रेलियाको भिक्टोरिया राज्य समिति, न्याभ लगायतका सामुदायिक संघ, संस्थाको सहकार्यमा एक कार्यदल गठन गरिएको र त्यसैमार्फत् आवश्यकता अनुसारको राहत दिने कार्यभइरहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेल बताउँछन्।

‘हामीले भेटेका संक्रमितमध्ये अधिकतम नेपालीहरूमा मध्यम खालको लक्षणहरू देखेका छौं। हामीले सकभर कोरोना पोजेटिभ भएकालाई होटल क्वारेन्टिनमा बस्न प्रेरित गरिरहेका छौं ताकि सँगै बस्ने अरूलाई खतरा नहोस्। त्यस्तै कोरोना नभएपनि आर्थिक रूपमा पीडित बन्न पुगेका विद्यार्थीहरूका लागि अत्यावश्यक सामग्री किनेर वा गिफ्ट कार्डमार्फत सहयोग गर्दै आइरहेका छौं। आशा गरौं यो कहरबाट आगामी दिनमा छिट्टै मुक्ति पाउनेछौं। राज्यमा कोरोना सङ्क्रमित बढे भन्दैमा नआत्तिकन सरकारले आह्वान गरेको निर्देशनलाई सबैले पालना गरौं’, उपाध्यक्ष कँडेल भन्छन्।

भिक्टोरिया राज्यमा रहेका नेपालीलाई सचेत गराउनका लागि फेसबुक पेजमार्फत् एउटा कन्ट्याक्ट पोइन्ट स्थापना गर्दै सबै सूचना तथा जानकारीहरू त्यसैमार्फत् प्रेषित गरिरहेको कुरा नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे बताउँछन्।

उनी भन्छन्, ‘टास्कफोर्समार्फत् हामीले पीडितको प्रतिक्रिया लिएर आवश्यकताअनुसार सामुहिक रूपमा सक्दो सहयोग गरिरहेका छौं। त्यसका लागि करिब २५ हजार अस्ट्रेलियन डलर बराबरको अक्षय कोषको स्थापना पनि भइसकेको छ। विशेष गरेर यहाँको नेपाली समुदायमा केही संकुचित मानसिकताले गर्दा कोरोना पोजेटिभ भएकाहरू बाहिर आउन नचाहेको हामीले पाएका छौं। त्यसका अलावा यदि बाहिर आइयो भने तिरस्कारको मारमा परिन्छ कि वा नेपालमा आफन्तले धेरै नै चिन्ता लिन्छन् कि भन्ने मानसिकताले गर्दा पनि नेपालीहरूले यसलाई लुकाउन अग्रसर भएको हामीले पाएका छौं। यो ठूलो चिन्ताको विषय हो।’

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा हालसम्म १३ हजार ८ सय ६७ जना कोरोना सङ्क्रमित भइसकेको सरकारी तथ्याङ्क रहेको छ। तीमध्ये ५ हजार ८ सय २९ जना निको भइसकेका छन् भने १ सय ८१ जनाको मृत्यु भइसकेको छ।