अमेरिकाबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक तथा सम्पादकद्वयलाई पितृ शोक

अमेरिका  : अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृ शोक परेको छ । विगत एक दशकदेखि अमेरिकाबाट संचालित हुँदै आएको लोकप्रिय अङ्कीय पत्र (अनलाइन) का संचालकद्वयका पिता हेडम बहादुर थापाको ९० वर्षको उमेरमा निधन भएको हो ।

सम्पादक विजय थापाका अनुसार शनिबार  २०७८ साल बैशाख १८ गते (बिहान ३ बजे) काठमाडौंस्थित आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ । नेपालको धनकुटा मुगा गाउंपालिका घर भै हाल बालुवाटार निवासी स्व. थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छन् ।

विजय थापा/विश्वराज थापा इनेप्लिजका संचालक हुन् ।

स्व. थापाको जन्म १९८८ कार्तिक १६ गते धनकुटा मुगामा भएको थियो । लामो समयसम्म शिक्षण पेशामा रहेका स्व. थापाले केहि वर्ष ग्लोबल भ्वाइस इन्टरनेसनल मासिक पत्रिकाको सम्पादक रही काम गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गरेका स्व. थापाले कलेजमा प्राध्यापन पनि गरेका थिए । स्व. थापाले ३ पटक अमेरिकाको भ्रमण गरेका थिए ।

स्व. थापाकी पत्नी तीर्थ कुमारी थापा बालुवाटारमा बसोबास गर्छिन् भने जेठी छोरी शारदा सिलवाल सपरिवार ताहाचलमा छिन् ।

अंग्रेजीमा लेख लेख्ने स्व. थापा विशेष गरी  व्याकरण अंग्रेजी साहित्यमा रुची राख्थे । महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकाले केही छोराहरु नेपाल पुगेपछि अन्त्येष्टि र अन्तिम श्रद्धाञ्जली हुनेछ ।

प्रवासमा कार्यरत नेपाली अनलाइन पत्रिकाहरुको संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन), ले स्वर्गीय थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।