नेपाल हाउस बेल्जियम अवसर र चुनौती,

सुबास भट्ट , ब्रुसेल,

बेल्जियममा नेपालीहरुको उपस्थिति सन् १९९० को आसपास देखि सुरु भएको देखिन्छ। तत्कालिन समयमा अत्यन्त न्यून संख्यामा रहेका नेपालीहरु आज सम्म आइपुग्दा झन्डै ८००० (NRNA बेल्जियमको २०२० सर्बे बाट) भन्दा धेरै पुगिसकेका छन । नेपाली समुदायलाइ एककृत गर्दै नेपालीको हकहितमा कामगर्ने उद्देश्यले २००६ मा NRNA संस्थाको बेल्जियममा स्थापना गरिएको थियो भने क्षेत्रीय, जातीय, धार्मिक , बैचारिक लगायत बिबिध आस्थामा आधारित रही आजका दिन सम्म आइपुग्दा यहाँ करिब १२० भन्दा बढी संघ सस्थाहरु को बाक्लै उपस्थिति छ।

विभिन्न खास उद्देश्य वा सस्थागत परम्परा धान्नकै लागि किन नहोस् प्राय हप्तै पिच्छे नेपाली कार्यक्रमहरु पनि भैरहेकै हुन्छन। सबै संघसस्थाको कार्य, गतिबिधि र उद्देश्यलाई गहिराइबाट नियाल्ने हो भने मुलत सबै संघ सस्थाको आधारभुत उद्देश्य भनेको आपसी भाइचाराको बिकाश गर्ने, समाजको हित अनुकुल काम गरि नेपाली परम्परा, संस्क्रिति र नेपालीपनको जगेर्ना गर्ने नै हो भन्ने बुझाईमा दुइमत नरहला । गन्तब्य एउटै हुदाहुदै पनि सयौ संघसस्थाको उपस्थितिको खास आबस्यकता के त भन्ने प्रश्न आजको बिषयबस्तु अन्तर्गत नपर्ला तथापी माथि उल्लेखित अन्तत्वोगत्वा उद्देश्यलाई मनन गर्ने हो भने ‘नेपाल हाउस’ र यसले गरेको परिकल्पना सबैको साझा मुद्दा बन्ने कुरा निश्चित छ।

 

के हो त गैर आबासिय नेपाली संघ बेल्जियमद्वारा प्रस्तावित ‘नेपाल हाउस’ र यसको उद्देश्य ?

मुलत नेपालको प्रवर्धन गर्न सहयोग गर्ने नेपालीपन झल्किने भवन सहितको सुबिधा सम्पन्न भौतिक संरचना नै नेपाल हाउस हो। भवनलाई नेपाली बास्तुकलाले सुसज्जित गरि नेपाल चिनाउने, नेपाली मौलिक कला संस्कृतिहरुको प्रवर्धन गर्ने, नयाँपुस्ताहरुमा नेपाल चिनाउदै नेपालसंग जोडिरख्ने र समाज हितकर सेवा प्रदान गर्ने लगायतका उधेश्य सहितका योजनाहरु जस्तै नेपाली भाषा स्कुल, नेपाली म्युजियम, प्रौढ हुनु भएका अग्रज हरुलाई नेपालीपनको चिया चौतारी, नेपाली बिहे ब्रतबन्ध लगायतका परम्परागत शैलीका कार्यक्रमको लागि उचित व्यवस्था गर्ने , मन्दिर र गुम्बा को स्थापना गर्ने , नेपाली संघ संस्थाहरुलाई सहज हुने गरि कार्यक्रम तथा सभाहल व्यवस्था गर्ने , बिशेष नेपाली मौलिक परिकारहरु सेवा गर्ने नेपाली चुलो व्यवस्था गर्ने, ध्यान केन्द्र निर्माण गर्ने लगायतका धेरै योजनाहरुको एक्मुस्ट परिकल्पना नै समस्टिमा नेपाल हाउस हो।

अर्को तर्फ, गैर आबासीय नेपाली संघ बेल्जियमको लागि एक मिटिङ्गहल सहितको स्थाई कार्यालय निर्माण गर्ने र चन्दा प्रवृतिबाट आजित यस संस्थालाई दिर्घकालिन रुपमा आर्थिक सबलता प्रदान गर्ने अर्को मुख्य उधेस्य हो। साथै यहाँ स्थित संघ संघसस्थालाई निशुल्क वा सहुलियत सहितको सेवा सुबिधा उपलब्ध गराउदै नेपाली समाजलाई एककृत गर्नु पनि यसको लक्ष्य रहेको छ।

सारंसमा, सम्पुर्ण नेपाली समाजको एकताको प्रतीबिम्ब र गौरबको बिषयको रूपमा नेपाली कला, सस्कृति र पहिचान झल्किने गरि निर्मित तथा संचालित, नेपाली समुदायलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ हुने गतिबिधि गर्दै विदेशमा नेपाल चिनाउने प्रतिष्ठाको परियोजना नै हाल NRNA बेल्जियमले परिकल्पना गरेको नेपाल हाउस हो। यो आम नेपालीले गर्भ गर्न मिल्न्ने प्रतिष्ठाको परियोजना हो र हुनुपर्दछ।

चुनौती र पहलकदमी

माथि उल्लेखित परिकल्पना र उद्देश्य मात्रै मनन गर्ने हो भने पनि यसको आबस्यकता पुष्टि गर्न खासै चर्चा आबस्यक नहोला तथापी यहाँ स्थित नेपालीहरुको खास समस्याहरु र आकांक्षाको कोणबाट मात्र हेर्ने हो भनेपनि बेल्जियममा नेपाल हाउसको आबस्यकता दिनप्रतिदिन टड्कारो हुदै गएको देखिन्छ। यसको आबस्यकताको छलफल र निर्माणको कोसिस पनि एक दशक पुरानो नै हो । सन् २०१० मा नै यसको स्थापनाको लागि बहस र कोसिस गरिएको देखिन्छ। तत्पश्चात NRNA का प्रत्येक कार्यकालमा यो एक मुख्य मुद्दा को रुपमा छलफलमा आयता पनि २०१० को असफल प्रयास पछि भने खासै ठोस कदम अगाडी बढेको देखिदैन। बिगतमा उब्जियका बिबिध समस्याहरु र चुनौतीहरुको चाङ्ग नै यस अभियान दृढताका साथ् अगाडी नबढ्नुको मुख्य कारण हुनुपर्दछ।

हाल २०२२ सम्म आइपुग्दा पनि यावत चुनौतीहरु यथाबत नै छन्। मुख्यतया बिगतको असफल प्रयासहरुले नेपाली समाजमा पारेको नराम्रो छाप र सिर्जित नेतृत्व प्रतिको विश्वसनियता , नेतृत्व परिबर्तन र सस्थामा मौलाएको राजनैतिक हस्तक्षप लगाएतका कुराहरुले समाजमा छोडेको नकारात्मक छापलाई चिर्दै बिश्वासको पुनआर्जन नै हालको मुख्य चुनौती हो। बिश्वासको खडेरीले गर्दा नेपाल हाउसको चाहना हुदा हुदै पनि यसको प्राप्तिमा नेपाली समाज अग्रपंतिमा उभिन हिच्किचाएको प्रस्टै हुन्छ। समाजको निराशा बाहेक अर्को पाटोबाट हेर्नेहोभने अन्य केहि स्वाभाविक चुनौतीहरु पनि छन्। ति हुन् खरिद प्रक्रियामा आबस्यक आर्थिक, कानुनि ब्यबधानहरु, प्रत्येक २ बर्षमा हुने NRNA को कार्यसमिति (नेतृत्व) परिबर्तन र यस परियोजनामाको सफल दिर्घकालिन ब्यबस्थापन तथा संचालन।

यी र यस्ता यावत चुनौतिहरुको पहाड चिर्दै, समाजमा बिस्वासको बातावरण निर्बाण गर्दै आत्माबिस्वासको साथ एकताको प्रतिक “नेपाल हाउस” सपना साकार पार्न हालको गैर आवसीय नेपाली संघको कार्यसमिति तदारुकताका साथ लगिपरेको छ। दोस्रो पुर्ण बैठकबाट पारित यस एजेन्डा सफल पार्न अध्यक्ष खड्क केसी स्वयमको संयोजकत्वमा संघका सचिब सुवास भट्ट सदस्य सचिव रहने गरी नेपाल हाउस बिभाग नै गठन गरि संघले तिब्र रुपमा कार्य अगाडी बढाइरहेको छ। चुनौतीहरुको सुक्ष्म अध्ययन साथसाथै बिभिन्न बैचारिक र सामाजिक संस्थाका अभियान्ताहरु,नेपाली समाजका बिज्ञहरु, राजदुताबास लगायत धेरै पक्ष संग गरिएका घनिभुत बिचार बिमर्शहरुलाई शिरोधार्य गर्दै यस “नेपाल हाउस” योजनालाइ नितान्त सामाजिक रुपबाट परिमार्जन गर्दै सामाजिक र ब्यबसायीक अबधारणा सहितको परिष्कृत प्रारुप दिन गैर आवसिय नेपाली संघ गर्वका साथ तयारी अवस्थामा छ। यस कोसिसमा नेपाली समाजले हातमा हात मिलाएमा यस महत्वकांक्षी योजनाको सपना साकार हुने दिन अब धेरै टाढा छैन।

सम्भाव्यता अध्ययन र प्रस्तावित नेपाल हाउस

नेपाल हाउस बिभाग गठन लगत्तै विभागले सुक्ष्म अध्ययन थालेको थियो। गठन पश्चात पहिलो चरणमा यस विभागले नेपाल हाउस सम्बन्धि प्रारम्भिक अध्ययन, चुनौतिहरुको अध्ययन, सम्भाव्यता अध्ययन, समाजका दिग्गज व्यक्तित्व हरु संग सर-सल्लाह, सम्बन्धित बिज्ञ संग विचार बिमर्श गर्यो। लगतै, बेल्जियम स्थित कानुनी परामर्श दाता, नगरपालिका भबन बिभाग, बैंक लगाएतका यस योजना संग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने सरोकारवालाहरुसंग गहन छलफल गर्दै राय सुझाब संकलन गरेको थियो। संकलित सल्लाह सुझाब लाइ आधार मानि आर्थिक चुनौतीलाइ पनि सहजीकरण गर्ने गरि यस आयोजनाको विकास मोडेल तय गर्दै २ बर्षे कार्य योजना सहित अगाडी बढेको थियो। लगत्तै, विकास मोडेल र कार्ययोजना सुहाउदा सम्भावित ७ वोटा भवन हरुको साइट भिजिट सहित गहन अध्ययन गरेको थियो। त्यसमध्ये उत्कृष्ट चुनिएका २ वोटा प्रोजेक्टहरु मध्ये पहिलो अक्टोबर २०२१ मा र हाल छलफलमा रहेको प्रोजेक्ट गत मार्च २०२२ मा नेपाली समाज सामु छलफलको लागि प्रस्तुत गरेको थियो।

कार्यसमितिको २ बर्षे कार्यकाल लाइ मध्यनजर गर्दै बनाएको कार्यतालिकामा आधारित रहेर बिभाग गठनको १ बर्षको अबधिमा हाल प्रस्तावित नेपाल हाउस कार्ययोजना कार्यन्वयनको द्रिस्टिकोणबाट सहि समयमा नेपाली समाज सामु प्रस्तुत भएको छ भन्ने बिभागको बुझाइ छ। यस योजना र यस सम्बन्धि विवरण याँहा बिस्तृत रुपमा प्रस्तुत गर्न सम्भब नहोला यद्यपि यस सम्बन्धि बिस्तृत जानकारीको लागि नेपाल हाउस बिभाग द्वारा निर्मित वेबसाइट www.nepalhousebelgium.com मार्फत जानकारी लिन सकिन्छ। नेपाल हाउस सम्बन्धि आम व्यक्तिमा जिज्ञासाको रुपमा रहने केहि प्रश्नहरु लाइ समेट्दै प्रश्नोत्तरको रुपमा केहि जानकारी दिने कोसिस यहाँ रहने छ।

प्रस्तावित नेपाल हाउस कहाँ छ ?

यो लुवेन नगरपालिकामा ट्रेन स्टेशन बाट २ km को दुरीमा अबस्थित छ, ।

बेल्जियमको केन्द्र पर्ने गरि छानिनु पर्ने, लुवेनमा नै किन ?

यस बिषयमा विभागले धेरै विचार मन्थन गरेको थियो। बेल्जियमको भौगोलिक दुरीगत केन्द्रबिन्दु नेपाली मुख्यबस्तीका सहरहरु भन्दा बाहिर पर्ने र त्यसले सम्पूर्ण नेपालीलाई सेवा पुर्याउनुको साटो सबैलाई असहज बनाउने देखियो। भौगोलिक भन्दा जनसंख्याको आधारमा सहर छनोट गर्नु उचित लागेर बढी बस्ति रहेको सहरहरु आन्तोर्पेन वा लुबेनमा बनाउने गरि संघ अगाडी बढ्यो ताकी अधिकतम नेपालीहरु दुरिगत हिसाबमा पनि प्रतक्ष्य लाभान्वित होउन। साथै योजना मुताबिकको भवन त्यो पनि भनेकै ठाउमा प्राप्त गर्नु आफैमा अर्को चुनौती थियो। लगानी, प्रतिफल र सेवाको नजरबाट सम्पूर्ण बेल्जियमबासि नेपाली हरुलाई लाभ बराबर नै हुनेछ भन्ने विश्वास संघले लिएको छ। अर्कोतर्फ भाबी लक्ष्य हेर्ने हो भने प्रत्येक सहरमा नेपाल हाउसका शाखाहरु खोल्ने लक्ष्य पनि संघले लिएको छ।

लगभग ३ मिलियन युरोको प्रोजेक्ट नेपाली समाजले ह्यनडल गर्न सक्छ त ?

चुनौती पक्कै पनि छ तथापी व्यक्तिगत रुपमा ठुला व्यापार तथा प्रोजेक्टहरु संचालन गर्न सक्ने नेपालीहरुको क्षमतामा संका गर्नुपर्ने ठाउँ देखिदैन। संगठित रुपमा सामाजिक सस्थामा नेतृत्व परिबर्तन लगाएतका बिषयले प्रभाब पर्ने हुँदा यस प्रोजेक्टलाई नितान्त ब्यबसायिक ढंगबाट एक कम्पनीको प्राबधान गरि संचालन गर्न लागिएको छ, जसमा लगानी र प्रतिफलको पूर्ण पारदर्शिता सहित जिम्मेवार बोर्ड मेम्बर र कामदार द्वारा संचालित हुने हुदा यसको सफलतामा पुरातनबादी संका उपसंका गरिरहन भन्दा पनि ब्यबसायिक कार्यकुसलाता माथि छलफल चलाइनु उचित देखिन्छ।

NRNA एक सामाजिक सस्थाद्वारा एक निजि कम्पनिको पहल गरिनु उचित हो ?

यो प्रस्ट हुन जरुरि छ कि यस संघले कुनै प्राइभेट कम्पनीको वकालत गरिरहेको छैन। बिगतका असफलताबाट पाठ सिक्दै र चन्दामा आधारिक अर्थ व्यवस्थाले यस्तो आयोजना दिर्घकालिन नहुने ठहर गर्दै नेपाली समाज सामु लगानीमैत्री विकल्प प्रस्ताब गरेको हो। संघले मात्र आफ्ना सस्थागत उधेस्यहरु प्राप्तिको लागि नेपाली समुदायलाई एक उचित र दिर्घकालिन सफलातामुखी सहि बाटोको पहिचान गरि win win situation को विकल्पमा आम समुदायलाई लागि पर्न उत्प्रेरित गरिरहेको छ। नेपाली समुदायका जो कोहीको लागि लगानी खुल्ला रहेको र नेपाली समुदायबाट नै उक्त कम्पनीको स्थापना हुने साथै नेपाल हाउस योजना सम्बन्धि खरिद कार्य ,ब्यबस्थापन र संचालन जिम्मेवारी उक्त कम्पनी मार्फत नेपाली समाजले नै गर्ने छ। सकारात्मक सोच राख्ने जो कोहिले यस प्रस्ताबलाई NRNA द्वारा नेपाली समाजको लागि सिर्जना गरेको सुबर्ण अबसरको रुपमा ब्याख्या गर्ने कुरामा संघ पूर्ण बिश्वस्त छ।

NRNA संस्थालाइ के फाइदा त ?

NRNA बेल्जियमले उक्त कम्पनि संग सम्झौता गरि आफ्नो लागि दिर्घकालिन निशुल्क अफिस प्राप्त गर्ने छ। मिटिंग कार्यक्रम हल हरुको प्रयोग गर्न पाउने छ जसले गर्दा हाल यस सस्थालाई पर्दै आएको आर्थिक भार न्युन हुनेछ भने आफ्नै स्थाई कार्यालय पनि हुनेछ। अर्को तर्फ यस सस्था NRNA नेपाल हाउस कोष मार्फत उक्त प्रोजेक्ट मा लगानीकर्ताको रुपमा २५,००० युरो बराबरको शेयर होल्डर हुने प्रयासमा छ जसबाट प्राप्त प्रतिफलले NRNA लाइ दिर्घकालिन आर्थिक सबलता दिलाउन मद्दत गर्ने छ। अर्को फरक कोड बाट हेर्दा NRNA द्वारा लक्षित नेपाल प्रवर्धन कार्यक्रमहरु जस्तै म्युजियम, ध्यान केन्द्र, मन्दिर गुम्बा ,नेपाली चुलो , नेपाली स्कुल , चौतारी लगाएतका योजनाहरु यस प्रोजेक्टमा जोडिएका छन् जुन नेपाल र नेपाली समुदायको हित मा छन्। ति कुराहरुको स्थापना र संचालन पनि संघको सफलता हुनेछ।

कसले कति लगानी गर्न सक्छन ?

हाल प्रोमोटर शेयर होल्डर्को रुपमा ५०,००० वा २५,००० युरो को लगानी जोकोहि बेल्जियम बसी नेपाली वा नेपाली संघसंस्थाले गर्न सक्ने प्राबधान संघ ले गरेको छ। लगानी सुरक्षित गर्ने अन्तिम मिति येही अगस्ट ३१ गते रहेको छ। प्रोमोटर शेयर होल्डर को अन्तिम नामावली संगै संचालक समिति चुनेर कम्पनि स्थापित हुनेछ। कम्पनि स्थापना पश्चात कम्पनीले योजना सम्बन्धि सम्पुर्ण काम, कर्तब्य र निर्णयहरु गर्ने अधिकार राख्ने छ भने पूर्ण जिम्मेवारी पनि उक्त कम्पनि मातहत रहनेछ। साथै कम लगानी गरि प्रतिफल लिदै सहभागी हुन इच्छुकहरुको हकमा ५,००० युरो मूल्य बराबरको साधारण शेयर खुला गरिएको छ।

लगानी कर्तालाइ प्रतिफल र जोखिम के ?

कम्पनिले गर्ने बार्षिक आर्थिक लेखेजोखाबाट लगानीकर्ता ले लगानीको हैसियतमा मुनाफा प्राप्त गर्ने छन् भने लगानीकर्ताको हैसियतमा लगानीकर्ताहरुले उपलब्ध सेवा सुबिधा हरु सहुलियत दरमा उपभोग गर्न पनि पाउनेछन। पक्कै पनि अन्य ब्यबसाय जस्तै कम्पनि घाटाको स्थितिमा आफ्नो अम्समा पर्ने जोखिमको भागेदार पनि लगानीकर्ता रहनुपर्ने हुन्छ। तर यो एक भौतिक संरचना भएको र रियल स्टेटको मुल्यांकनको आधारमा खरिद मूल्य निर्धारण गरियको, साथै रियल स्टेटको मुल्यांकन प्राय समय अनुसार बढ्ने हुदा सुरुवाती लगानीमा नोक्सानी पुग्ने सम्भावना न्युन प्राय छ।

खरिद प्रक्रिया कहाँ पुगेको छ ?

बिक्रि कर्ता संग विभिन्न मिटिंग साथै कानुनि, आर्थिक परामर्स दाता हरुको सहयोगमा र भवन बिभाग लुवेनको परामर्स पश्चात बिक्रिकर्ता संग प्रप्रटि खरिद-बिक्रि गर्ने सहमति गरेको अवस्था छ भने नाम उपलब्ध गरिसक्नुभएका लगानीकर्ता र बिक्रिकर्ता बिचमा लेटर अफ इण्टेण्ड मा हस्ताक्षर प्रक्रिया चलिरहेको छ।

अन्त्यमा,

संघको २ बर्से कार्यकाल भित्र नै यस्तो महत्वाकांक्षी योजनाको छलफल, अर्थ संयोजन, अध्ययन, प्रशासनिक जटिलताहरु र सामाजिक चुनौतिहरु चिर्दै सफलताउन्मुख बनाउनु फलामको चिउरा चपाउनु जत्तिकै चुनौतीपुर्ण थियो। तथापी हालको कार्यसमित पुर्ण आत्मविश्वासका साथ काम गर्दै १ वर्षको अन्तरलमा नै एक उच्च सम्भावित योजनाको प्रस्ट खाका सहित साथ र सहयोगको अपेक्षा बोकेर यहाहरु सामु उभिएको छ। समाजलाई यस योजनाको जिम्मेवारी बाड्दै, काँधमा काँध मिलाई अगाडी बढ्न संघ आतुर छ। कार्यसमितिले गर्न मिल्ने र सक्ने क्षमता प्रस्तुत गर्दै मेहनेतामा कुनै कसर बाकी नराखी गृहकार्य गरेर आम नेपाली समुदायको ढोका ढक्ढकाएको छ। समाजलाई सबल र सकारात्मक दिशामा डोहोराउने यो जमर्कोमा ढोका खोलेर स्वागत गर्ने वा ढोका थुनेर पुरानै शैलीको खिचातानीमा रमाइराख्ने, आज यी दुई विकल्प आम बेल्जियमबासी नेपाली समुदाय सामु ठिङ्ग उभिएका छन।

(लेखक गैर आबसिय नेपाली संघ बेल्जियमका सचिब तथा नेपाल हाउस बिभागका सदस्य सचिब हुनुहुन्छ)