योगले मस्तिष्कलाई फाइदा गर्छ : अध्ययन

एजेन्सी – योगले मस्तिष्कलाई फाइदा पुऱ्याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पुऱ्याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।

‘ब्रेन प्लाष्टिसिटी’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ । अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्बन्धलाई मुख्य रूपमा हेरिएको अध्ययनकर्ताहरूले जनाएका छन् । अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ । त्यसमा उनीहरूको मस्तिष्क विकासको सुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।

त्यसैगरी अर्को अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो ।

आफूहरुका ११ ओटा अध्ययनबाट मानव मस्तिष्कको बृद्धि विकासमा योगको महत्वपूर्ण भूमिका रहने निश्कर्ष निस्किएको अध्ययनको नेतृत्व गरेका नेहा गोथेले जनाएका एएनआईले उल्लेख गरेको छ । ‘युनिभर्सिटी अफ इलिनोइस किनेसिओलोजी एण्ड कम्युनिटी’का स्वास्थ्य प्राध्यापक नेहाले ‘वायन स्टेट युनिभर्सिटी’का मनोविज्ञान प्राध्यापक जेसिका दामोइसियक्ससँगले अध्ययनको नेतृत्व गरेकी हुन् ।

‘यससम्बन्धी धेरै अध्ययन भए पनि नियमित योग र मस्तिष्कको विकासको अन्तरसम्बन्धको गहिरो अध्ययन भएको थिएन, तर यो अध्ययनले त्यसलाई जोड दिएको छ,’ दामोइसियक्सको भनाई छ ।

नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले बताएको छ । योग नगर्नेभन्दा योग गर्नेको दिमाग बढी चलायमान हुने भएकाले बृद्धि र विकासमा सहयोग पुगेको अध्ययनको निष्कर्ष छ ।