पठाओका सह–संस्थापक फहिम जसले सानै उमेरमा गरेका थिए यस्ताे प्रगति

काठमाण्डौ – ३३ वर्षिय फहिम सलेह । जसको मृत्युले यतिबेला अमेरिकी मिडियामा ठूलो स्थान पाएको छ । उनी ठूला मिडियामा हेड्लाइन बनेका छन् । उनका साथीहरुले फहिमलाई ‘बदलिदो विश्वको इलन मस्क’ का रुपमा संज्ञा दिएका थिए ।

न्युयोर्कमा बंगलादेसी राइड सेयरिङ एप पठाओका सह–संस्थापक तथा प्रविधी उद्यमी फहिम गत मंगलबार मृत अवस्थामा भेटिए । उनको मृत्यु रहस्यमयपूर्ण बनेको छ ।

को हुन् फहिम सलेह ?

फहिम सलेह साउदी अरेबियामा जन्मिएका हुन् । उनका बुबा, आमा बंगलादेशबाट साउदी अरेयिबा हुँदै पछि अमेरिकाको न्युयोर्क बसाइ सरेका थिए । उनले कलिलो उमेरमा केही एप्सहरु बनाएका थिए । पहिले वेवसाइट डेभलपर थिए । फहिम महत्वकांक्षी तर दयालु थिए ।

पछि वयस्क भएपछि उनले पठाओ र गोकाडा जस्ता मोटरसाइकल राइडिङ एप्स बनाए । बंगलादेश र नाइजेरियामा मोटरसाइकल राइडिङ सेयर कम्पनि सञ्चालित थिए । तर, सन् २०१८ मा सूरु गरिएको गोकाडा नाइजेरियाका नागरिकको बिरोधपछि उनको कम्पनिलाई बन्द गराएको थियो ।

उनी प्रविधिबाट मानिसको कसरीे जीवन रूपान्तरण गर्न सकिन्छ भन्नेमा केन्द्रित थिए । आफ्ना साथीहरुसँग यसबारे मनमा लागेका विचार साँट्थे । उनले बनाएको एप्स गोकाडाले ट्वीट गरेको छ, ‘सलेह ठूला प्रेरक र नेतृत्वदायि क्षमता भएका व्यक्ति हुन् । उनमा सकारात्मक विचार थियो ।’

उनले सन् २०१४ मा ढाका पुगेर पठाओ एप्स लन्च गरेका थिए । नयाँ पुस्तामा चर्चित उद्यमीका रुपमा उनी चिनिन्थे । अमेरिकाको बेन्ट्ली युनिभर्सिटीमा उनले इन्फरमेशन सिस्टम अध्ययन गरेका हुन् । उनले सूरु गरेको पठाओ निकै लोकप्रिय हुँदै गएको थियो ।

इन्डोनेसियामा पनि यसको व्यापार फैलिदै गएको थियो । यस्तै कोलम्बियामा पनि राइड सेयर कम्पनि स्थापना गरिसकेका थिए । ‘उनको मृत्युको खबरले हामीलाई दुःखी बनाएको छ ।’ पठाओका संस्थापक मध्येका एक हुसैन एम इलियसले भनेका छन्, ‘उनी सधैँ हाम्रो सम्झनामा रहिरहनेछन् ।’

कसरी मारिए उनी ?

गत मंगलबार न्युयोर्कको आफ्नै फ्ल्याटमा फहिम मृत अवस्थामा भेटिए । उनकी बहिनीले सूरुमा उनको लास देखेकी थिईन् । इलेक्ट्रिक मेसिन नजिकै ठूलो प्लास्टिकमा उनको लास भेटिएको थियो । त्यो इलेक्ट्रिक मेसिनले उनको शरीरमा प्रहार गरिएको आशंका गरिएको छ । उनको लासका टुक्राहरु फरक–फरक प्लास्टिकका झोलामा राखिएको पाइएको छ ।

द डेलीस्टारका अनुसार उनको बिभत्स रुपमा हत्या गरिएको हो । बंगलादेसी आप्रवासी नागरिकबाट जन्मिएका उनले हालै मात्र २.२५ मिलियन डलरमा अपार्टमेन्ट खरिद गरेका थिए ।

सोमबारदेखी नै उनलाई कसैले पछ्याईरहेको थियो । लिफट्मा हातमा पञ्जा, मुखमा मास्क र सुट लगाएको व्यक्तिले पछ्याएको थियो । तर अन्तिम दृश्य भने सिसिटिभी क्यामेरामा पनि नभेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार पेशेवर हत्याराले उनको सुट् गरेको हुन सक्छ । मेडिकल रिपोर्टको अनुसन्धानले अझै पनि उनको मृत्युको कारण पत्ता लगाउन सकेको छैन ।

पठाओ कसरी सफल भयो ?

ढाकामा मुख्यालय रहेको पठाओ यस्तो डिजिटल प्लेटफर्म हो, जसले अनलाइनबाट राइड सेयरिङ, खाना डेलिभरी, कुरियर, इकमर्स सुविधा प्रदान गर्दै आएको छ । बंगलादेशको ढाका, चट्गाउ र सिल्हेट् बाहेक काठमाडौंमा यसको कार्यालय रहेको छ । ५ सय कर्मचारीलाई रोजगारी दिलाईरहेको पठाओ सन् २०१५ को मार्चमा सूरुवात भएको हो । जसका सिइओ हुन्, हुसैन इलियस ।

युवा उद्यमी फहिमले यस्तो आइडिया लगाईदिए जसले गर्दा कैयौं युवाहरुले रोजगारी पाए । पछिल्लो समय नेपालमा पनि पठाओ एकदमै लोकप्रिय हुँदै गईरहेको छ । उनले सडकमा ट्याक्सी भन्दा बढी गुड्ने मोटरसाइकललाई भाडाका रुपमा प्रयोग गर्न दिएर गजबको आइडिया निकाले । अहिले पठाओ बंगलादेशबाहेक नेपालमा पनि सञ्चालन भईरहेको छ ।