राजाका वरिपरि मन्त्री त के वडाअध्यक्ष बनाउन लायक व्यक्ति पनि छैनन: संयोजक सिलवाल

काठमाण्डौं – राजसंस्था पुनःस्थापनको अभियान चलाइरहेका स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजाका वरिपरि मन्त्री बनाउने हैसियतको त कुरा छोडौं अहिलेको अवस्थामा वडा अध्यक्ष बनाउन लायक व्यक्तिहरू समेत राजको निकट नरहेको बताएका छन ।

चारदिशा सँगको कुराकानीको क्रममा संयोजक सिलवालले उक्त धारणा राखेका हुन । उनै सिलवाल सँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं:

स्वतन्त्र नागरिक समाजले डा. सुरेन्द्र केसीलाई सडक बाटै प्रधानमन्त्रीको प्रस्ताव गर्‍यो, संविधानत प्रधानमन्त्री त संसदले चयन गर्ने व्यवस्था छ नि हैन ?

नेपालको २०७२ को संविधान नै विवादित छ । यो संविधान संशोधनको कुरा पनि त उठेको छ । यो संविधानले अहिलेको अवस्थामा हामी नागरिक सरकारको बन्नुपर्छ भन्ने पक्षमा छौं । मुलुक र इतिहास बुझेको व्यक्तिको रूपमा हामीले डा. सुरेन्द्र केसीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हौं । नागरिक सरकार बन्दा त्यसको नेतृत्वको लागि उपयुक्त पात्र डा. केसी हुन सक्छन् भन्ने हाम्रो निष्कर्ष हो ।

राजसंस्था पुनःस्थापन गर्ने ठेक्का लिनुभएका तपाईहरूकै बाइसे र चैविसे गुट छन, ति सबै गुटहरूले डा. केसीलाई प्रधानमन्त्री स्वीकार गर्छन त ?

मुख्य कुरा राजसंस्था र हिन्दू अधिराज्य नेपालको बटमलाईन हो भन्ने कुरामा दुईमत छैन तर त्यो व्यवस्थालाई पुनःस्थापन गर्नको लागि अन्तरीम व्यवस्थाको लागि मात्रै नागरिक सरकारको परिकल्पना गरिएको हो । त्यसले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा यथावत रहने कि नरहने राष्ट्रपति सहितको गणतान्त्रिक व्यवस्था नै कायम रहने कि परम्परागत शक्तिलाई पनि स्पेस दिने भन्ने कुरा नागरिक सरकार बनिसके पछि मार्गचित्र बन्छ । त्यसपछि मल्टिपार्टी सिस्टममा जानुपर्छ भन्ने हाम्रो अडान हो ।

तपाईंहरूको राजसंस्था पुनःस्थापन गर्ने खेती बन्द हुन लाग्यो वा तपाईहरू बाट पार लागेन त्यसकारण डा. केसीलाई अगाडि सार्नु भएको हो ? धमिलो पानीमा माछा मार्ने दाऊ होला हैन ?

त्यस्तो होइन हामीले करिबकरिब ३० बर्ष प्रजातान्त्रिक अभ्यास गर्‍यौ । २००७ मा प्रजातन्त्र आएपनि बोल्न पाउनु मात्रै प्रजातन्त्र होइन । प्रजातन्त्रको जननी मानिने बेलायतले समेत ११ बर्ष राजसंस्था बिहिन प्रजातन्त्रको अभ्यास गरेपछि बल्ल कोर्ष करेक्सन गरेर राजतन्त्र पुनःस्थापन गरेको हो ।

हामीले पनि राजतन्त्र बिनाको यात्रा त अनुभव गरौं नेपालको सन्दर्भमा राष्ट्रपति स्वतन्त्र हुन सकेनन् । प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका विवादित बन्यो भने अहिलेकि राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद कदमको आलोचना भै नै रहेको छ । त्यसकारण मुलुकलाई स्थायित्व दिनको लागि पनि नागरिक सरकारको परिकल्पना गरिएको हो ।

राजसंस्था पुनःस्थापनको कुरा गर्दा ‘ताप्के भन्दा बिंड धेरै तातेको’ जस्तो देखिन्छ, राजसंस्था पुनःस्थापनको लागि पुर्व राजा ज्ञानेन्द्र शाह नै तैयार छैनन भन्ने सुनिन्छ नि ?

राजसंस्था पुर्व राजा ज्ञानेन्द्रको लागि चाहिएको कुरा नै होइन । राजसंस्था नेपाली जनताको लागि र देशको लागि चाहिएको हो । राजसंस्था पुनःस्थापनको कुराको चासो ७३ बर्षिय पुर्व राजा ज्ञानेन्द्रलाई नहुनु अस्वभाविक पनि होइन ।

राजसंस्थाको विघटन गर्ने अधिकार राजा ज्ञानेन्द्रलाई पनि थिएन । अनिर्वाचित गृहमन्त्रीको प्रस्तावमा उनले नारायणहिटी लुरूलुरू छाडेर गएका छन । त्यसकारण पनि राजसंस्था नेपालको स्थायित्वको लागि हो । राजसंस्था विघटन गर्ने अधिकार पुर्वराजा ज्ञानेन्द्र शाहलाई पनि थिएन । राजसंस्था नेपालको लागि पहिचान हो भने नेपाल विश्वको एकमात्र हिन्दू अधिराज्य भएको कुरा सबैले स्वीकार गर्नुको विकल्प छैन ।

राजसंस्था देश र जनताको लागि त्यति आवश्यक कुरा हो भने किन राजसंस्था पुनःस्थापन पक्षधर बिच नै एकता वा कार्यगत एकता कायम हुन सकेको छैन, सबै आ-आफ्नै डम्फू बजाउन व्यस्त छन नि ?

यसको प्रमुख कारण भनेको राजसंस्थाको वरिपरि नै खराब मानिसहरू छन । राजा देशप्रती चिन्तित छन र उनी कोहिप्रती पूर्वाग्राही छैनन । हामी एक नहुनुमा सबैको अध्यक्ष बन्ने वा फस्ट म्यान बन्ने सबैको चाहानाले यो समस्या देखिएको हो ।

हामीमा मात्रै होइन अहिलेको सत्तारूढ दल, प्रमुख प्रतिपक्षी दल वा मधेस केन्द्रित दलपनि यो समस्याबाट ग्रसित छन । यो सँगै अर्को कुरा चाहिँ दरबारको वरपर खराब मानिसहरूको समूह छ अहिले चाहिँ दरबार पनि के निष्कर्षमा पूगेको छ । राजाका सहयोगीहरू पनि इतिहास प्रती जिम्मेवार बन्न सकेनन । इमानदार मान्छेहरू दरबारको नजिक कोहि पुग्न सक्दैनन त्यसकारण पनि यो समस्या देखिएको हो ।

राजसंस्था पुनःस्थापन पक्षधरहरूमा सर्वस्वीकार्य नेतृत्व नभएको कारणले गर्दा पनि डा. केसीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो ?

राजसंस्थाको वरिपरि मान्छे मान्छे नै होइनन गाउँघरतिर एउटा भनाइ छ ‘गू खानका पिरले मान्छे भएकाहरू’ राजसंस्थाको वरिपरि छन । देश र समाज नबुझेका राजाका सचिवहरूलाई प्रभाव पारेर अनुचित पात्रहरूको बखान गरेर राजालाई नै भ्रममा पारे ।

राजाका वरिपरि मन्त्री बनाउन त वडा अध्यक्ष बनाउन लायक मान्छेहरू पनि छैनन् छन त केवल राजसंस्थाको नाममा दोहन गर्नेहरूको समुह मात्रै छ अन्यथा संस्था फेल र व्यक्ति पास हुने पद्धति संसारमै कहिँ छैन ।