राष्ट्रिय अवार्डमा आयुष्मान र विक्की बने सर्वोत्कृष्ट

एजेन्सी – भारतको ६६ औं राष्ट्रिय फिल्म अवार्डमा ‘अन्धाधुन’ सर्वोत्कृष्ट हिन्दी सिनेमा बनेको छ । सोही सिनेमाबाट आयुष्मान खुर्राना सर्वोत्कृष्ट अभिनेता बनेका छन् । आयुष्मानसँगै सो विधामा ‘उरी’ अभिनेता विक्की कौशल पनि सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् ।

हिन्दीतर्फ ‘अन्धाधुन’ सर्वोत्कृष्ट सिनेमा घोषित भएपनि सर्वोत्कृष्ट सिनेमाको अवार्ड भने गुजराती सिनेमा ‘हेलारू’ले जितेको छ । शुक्रबार भारतले राष्ट्रिय फिल्म अवार्ड विजेताहरूको घोषणा गरेको हो । यसैगरी अभिनेत्रीको अवार्ड भने कीर्ति सुरेशले ‘महानती’ सिनेमाबाट जितेकी छन् ।

यस्तै ‘उरी’का निर्देशक आदित्य धार सर्वोत्कृष्ट निर्देशक भए।त्यसैगरी ‘पद्मावत’ सिनेमाका लागि संजय लिला भन्साली सर्वोत्कृष्ट संगीतकार घोषित हुँदा यश स्टारर ‘केजिएफ’ले एक्सन तथा स्पेसल इफेक्ट तर्फको दुई अवार्ड जितेको छ ।