मिडिया हब र ‘सक्किगो नि’ बीच बिवाद सकियो, आपसी समझदारीमा टुंग्याउने सहमती

काठमाण्डौं – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद मिलेको छ । मिडिया हबले भद्रगोलका पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगो नि’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएपछि विवाद चर्केको थियो । तर यो विवाद आपसी समझदारीमा टुंगिएको सक्किगो निका कलाकार अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

 

‘पछिल्लो समय मिडिया हब प्रालि र ‘सक्किगो नि’ हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्‍याइएको छ । हाँस्य टेलिसिरियल भद्रगोल र सक्किगोनि यहाँहरूले नियमित रूपमा हेर्न पाउनुहुनेछ । कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ, । पछिल्लो समयमा उत्पन्न विवादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी गराउँदछौँ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा मिडिया हब र सक्किगोनि सिरियलप्रति देखाउनुभएको सहानुभूति, माया, र सद्भावप्रति सम्पूर्णमा कृतज्ञ छौ’, घिमिरेले फेसबुकमा लेखेका छन् ।

मिडिया हबले उत्पादन गर्दै आएको भद्रगोलबाट कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतका कलाकार केही समयअघि अलग्गिएका थिए । भद्रगोलबाट अलग्गिएका उनीहरुले उस्तै पात्र र चरित्रसहित ‘सक्किगो नि’ टेलिसिरियल उत्पादन थालेका थिए । तर यसअघि भद्रगोलमा रहेका पात्रहरु हुबहु चोरी गरेको भन्दै मिडिया हबले उजुरी गरेको थियो ।