फरार नायिका शिल्पा पोखरेलको मुद्दामा भदौ २२ मा बहस

काठमाण्डौं – बहुविवाहको अभियोग खेपिरहेकी नायिका शिल्पा पोखरेलले सर्वोच्च अदालतमा दिएको ‘अन्तरिम आदेशसहितको उत्प्रेष्ण परमादेश’ निवेदनमाथि आउँदो २२ गते हुने भएको छ ।

जेठी श्रीमती हुँदाहुँदै छबिराज ओझासँग विवाह गरी बहुविवाहको कानून उल्लंघन गरेको आरोपमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पक्राउ गर्न दिएको आदेशविरुद्ध उत्प्रेषण परमादेशको माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी थिइन् । निवेदन वारेसमार्फत दर्ता गराएकी थिइन् । वारेस अधिवक्ता मनोजकुमार यादव छन् ।

सोही निवेदनमाथि सुनुवाई गर्दै भदौ १ गते प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले भदौ १५ गते दुवै पक्षलाई छलफलका बोलाउन आदेश दिएको थियो । तर १५ गते संयुक्त इजलासमा पेशी चढेकोमा सो दिन उक्त हेर्न नभ्याएका कारण भदौ २२ को लागि सारिएको हो ।

बहुविवाहको मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न प्रहरीमा ओझाकी जेठी श्रीमती हेमा ओझाले उजुरी दिएकी थिइन् । सोही आधारमा काठमाडौं जिल्ला अदालतले ओझा र पोखरेललाई पक्राउ पूर्जी गर्न साउन ८ गते अनुमति दिएको थियो । सोही बेलादेखि दुवैजना फरार छन् । शिल्पाले भने वारेसमार्फत उच्च अदालत पाटन र सर्वोच्च अदालत पुगेकी हुन् । उच्च अदालतले भने काठमाडौं जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालत, उच्च अदालतलगायतलाई विपक्षी बनाई पोखरेल सर्वोच्च पुगेकी हुन् ।

यो मुद्दामा हेमाको तर्फबाट अधिवक्ता स्वागत नेपाल र अभियुक्तद्वयको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुराँगाई र मनोजकुमार यादवले पैरवी गरिरहेका छन् ।