पहिले ‘गुन्डा नाइके’, अनि नेकपाको माननीय, अब फिल्म निर्माता

काठमाण्डौं – ‘गुन्डा नाइके’ भनेर चिनिने मनाङका राजीव गुरुङ पछि दीपक मनाङेकै नामबाट चर्चित बने । उनी राजधानीमा हप्ता असुली, गुन्डागर्दीमा संलग्न रहेको भन्दै पटक(पटक प्रहरीको फन्दामा परिसकेका व्यक्ति हुन् ।

२०७४ मा भएको चुनावमा उनी मनाङबाट प्रदेशसभामा निर्वाचित भए । तर, उनकै हर्कतकै कारण झन्डै वर्षदिन प्रदेश सांसदको शपथग्रहण गर्न पाएनन् । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा दर्जसमेत थिए । पछि जसोतसो सांसदको शपथ त खाए त्यो पनि विवादमुक्त भने हुन पाएन ।

वास्तवमा उनलाई राजीव गुरुङभन्दा पनि दीपक मनाङेकै नामबाट चिन्ने बढी छन् । उनी वास्तविक नाम भन्दा पनि दीपक मनाङेबाट गुन्डागर्दीमा संलग्न हुने प्रहरीको बुझाइ छ । उनी मनाङबाट स्वतन्त्र रुपमा प्रदेशसभामा चुनिएर आए पनि अहिले नेकपाका सांसद छन् ।

गुन्डा नाइकेबाट विस्तारै सांसद भई छवि सुधारमा लागेका मनाङेले अहिले पुनस् आफ्नो परिचय बदलेका छन् । उनी आफ्नो परिचयलाई विविधता दिने भन्दै फिल्म निर्माणमा समेत हात हालेका छन् ।

हो मनाङेले परिचय बदलेको अर्थात् नेपाली फिल्म पोई पर्यो कालेु को निर्माता बनेर फिल्मी क्षेत्रमा पाइला राखेका छन् । मनाङे निर्माता रहेको यो फिल्म कात्तिक ८ गतेलाई प्रदर्शनको मित तय गरेको छ। उसो त ‘पोई पर्यो काले’को फस्टलुकसमेत सार्वजनिक भइसकेको छ। यही फस्ट लुकको पोस्टरमा निर्मातामा राजीव गुरुङ (दीपक मनाङे) र सरोज नेपालीको नाम रहेको छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

फस्टलुकले फिल्म पारिवारिक कथामा बनेको संकेत दिन्छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मको कार्यकारी निर्माता भने अमलादेवी राई छिन् । फिल्ममा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य, तारा थापाको सम्पादन छ ।