काश्मीरमा बलिउड फिल्मको सुटिङ बन्द, रोजीरोटी प्रभावित

बीबीसी – जम्मु काश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० खारेज गरेपछि पहिलो पटक देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मी जगतका बारेमा पनि कुरा गरे । उनले फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरुलाई जम्मु काश्मीरमा फेरि फिल्महरुको सुटिङ सुरू गर्न अपिल गरे ।

प्रधानमन्त्री मोदीले भने, “जम्मु काश्मीर र लद्दाखमा विश्वकै ठूलो टुरिस्ट हब बनाउने क्षमता छ । कुनै समयमा काश्मीर बलिउड फिल्म मेकरका लागि सबैभन्दा उत्तम स्थल थियो । त्यो बेला काश्मीरमा सुटिङ नभएका फिल्म हुन्थेनन् ।”

उनले भने, “अब काश्मीरको अवस्था सामान्य भइसकेको छ । देशबाटमात्रै नभएर अब अन्तरराष्ट्रिय जगतबाट काश्मीरमा सुटिङका लागि फिल्मकर्मी आउँछन् । हरेक फिल्म काश्मीरका नागरिकका लागि रोजगारको अवसर लिएर आउनेछ ।”

तर यथार्थ भने फरक छ । जम्मु काश्मीरको पछिल्लो तनावपूर्ण अवस्थाका कारण कैयौं बलिउड फिल्महरुको सुटिङ रोकिएको छ । निर्देशक र निर्माताहरु जोखिम उठाउन तयार छैनन् ।

जोखिम

बलिउडका निर्देशक र निर्माताहरु घाटीमा अचानक भएको परिवर्तनले बलिउड तत्काल काश्मीरमा फर्कन सक्ने अवस्था नरहेको बताउँछन् ।

निर्माता मुकेश भट्ट भन्छन्, “शतप्रतिशत सुरक्षित महसुस नगर्दासम्म कोही निर्माता पनि काश्मीर गएर फिल्म सुटिङ गर्ने जोखिम उठाउन तयार देखिँदैनन् । जबसम्म त्यहाँ सबै कुराहरु सामान्य हुँदैन, तबसम्म कसैले पनि जोखिम उठाउँदैन ।

उनले जम्मु काश्मीरको पछिल्लो तनावका कारण फिल्म ‘सडक–२’ को सुटिङ रद्द गरेको बताए । “यही महिना सुटिङ गर्ने तय भएको थियो । तर मैले क्यान्सिल गर्नुपर्यो । सबै कलाकारले डेट पनि फिक्स गरिसकेका कारण हामीले फिल्मको सुटिङ ऊटीमा गर्ने निर्णय गर्यौं । काश्मीर जान नपाउनु हाम्रालागि दुर्भाग्यको कुरो हो ।”

हिजोका कुरा

श्रीनगरका मोहमद अब्दुल्लाह २२ वर्षांदेखि बलिउडसँग जोडिएका छन् । पेशाले उनी लाइन–प्रोड्यूसर हुन् । उनको रेखदेखमा जम्मु काश्मीरमा कयौं बलिउड फिल्महरुको सुटिङ हुँदै आएको छ ।

उनी फिल्मी स्टारहरुका लागि होटल, सुटिङ स्थल, सुरक्षाको जिम्मा, सुटिङका लागि अनुमति दिलाउनेदेखि काश्मीरी नागरिकहरुलाई एकत्रित गर्ने काम गर्दछन् ।

अब्दुल्लाह भन्छन्, “यो लाइनमा मेरो २०–२२ वर्ष भइसकेको छ । गएका सात वर्षमा धेरै फिल्महरु जस्तै ‘रकस्टार’, ‘हाईवे’, ‘रेस ३’, ‘फितुर’, ‘हैदर’, ‘उरी’, ‘कलंक’, ‘मनमर्जियां’, ‘भाग मिल्खा भाग’, ‘हामिद’, ‘स्टुडेन्ट अफ द ईयर’, ‘अय्यारी’, ‘राजी’, ‘जब तक है जान’, ‘बजरंगी भाइजान’, ‘फेन्टम’, ‘लैला मजनु’, ‘रोमियो’, ‘ट्युबलाइट’ हरु काश्मीरमा सुटिङ भएका हुन् । हामीलाई कहिले पनि कुनै पनि कुराको गाह्रो अप्ठ्यारो भोग्नु परेको थिएन ।’

‘रोजीरोटी बन्द’

महेश भट्टको फिल्म ‘सडक २’ जस्तै धर्मा प्रोडक्शनको फिल्म ‘शेरशाह’ (क्याप्टेन विक्रम बत्राको बायोपिक) को सुटिङ लद्दाखमा हुन गइरहेको थियो । तर भारत सरकारको निर्णयपछि सुटिङ रद्द भएको छ ।
अब्दुल्लाह भन्छन्, “म गोपनियताका कारण तपाईंलाई फिल्महरुको नाम भन्न सक्दिन । तर कैयौं फिल्म, विज्ञापन र केही दक्षिण भारतीय फिल्महरु थिए, जसको सुटिङ रद्द भइसकेको छ ।”

उनी भन्छन्, “पूरै काश्मीर पर्यटनमा निर्भर छ । जब टुरिस्ट नै आएनन् भने हामीले के गर्ने ? मसँग ६० जना छन् र उनीहरुसँग पाँच सय जना । सबैको रोजीरोटी यसैसँग जोडिएको छ । अब सबै बन्द भएको छ ।”