सुनको मूल्य उच्च, कति पुग्यो ?

काठमाण्डौं – निक्कै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य माघयताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले ले बढेको हो । यही सोमबार र मङ्गलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६०० रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ । यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा बिहीबार सुनको मूल्य प्रति औँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तराष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ ।सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।