सुनको मूल्य आज पनि बढ्यो, तोलाको ७० हजार नजिक

काठमाण्डौं – सुनको मूल्य आज पनि बढेको छ।

मंगलबार ६८ हजार रुपैयामा कारोबार भएको सुन प्रतितोला आज १५ सय रुपैयाँले बढेको हो । साताको चौथो दिन बुधबार ६९ हजार ५ सयका कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भईरहेको छ ।

आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ रुपैयाँमा पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी मूल्य प्रतितोला ८१० रुपैयाँ तोकेको छ ।

मूल्य बढेसँगै सुनको बजारमा कारोवार निकै कम मात्रामा हुने गरेको व्यवसायीहरुले बताएका छन्। सुनको मूल्य बढेपछि सुन किन्ने भन्दा बेच्नेहरु बढी आएको व्यवसायीहरुले बताएका छन् । बजारमा सुनको माग ७५ प्रतिशतले घटेको छ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको हो ।