सहकारीलाई पहिलोपटक ब्याजदरमा अंकुश, १६ प्रतिशत बढि लिए कारबाही

काठमाण्डौं – सहकारी संस्थाहरुले जथाभावी ब्याज असुलीरहेका बेला सहकारी विभागले अंकुश लगाएको छ । कर्जामा अधिकतम १६ र निक्षेपमा १० प्रतिशतको सिमा तोकेपछि २२ प्रतिशतसम्म ब्याज असुल्ने सहकारी र तिनका संचालकमा छटपटी सुरु भएको हो ।

सहकारी विभागले इतिहासमै पहिलोपटक सहकारीमा सन्दर्भ ब्याजदर तोकेको छ । विभागले कर्जामा अधिकतम १६ प्रतिशत र बचतमा १० प्रतिशत ब्याजदर निर्धारण गरेको विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए । ‘अबदेखि कुनैपनि सहरकारीले १६ प्रतिशतभन्दा बढि व्याज लिन पाउने छैनन् ।’ उनले भने, ‘यदि आधार ब्याजदरभन्दा बढि लिएको पाइएमा सहकारी संचालकहरु कारबाहीको भागीदार बन्नेछन् ।’ विभागको यो निर्णयसँगै २२ प्रतिशतसम्म ब्याज असुल्दै आएका सहकारी संचालकमा अंकुश लागेको छ ।

आगामी आइतबार अर्थात १९ गतेदेखि मुलुकभरका ३५ हजार सहरकारीमा एकसाथ सन्दर्भ ब्याजदर लागू हुनेछ । केही बैंकहरुले निक्षेप नै १६ प्रतिशतभन्दा बढि दिइरहेको बेला विभागको नयाँ नियमले ति बैंकलाई असहज हुने देखिएको छ । विभागले सहकारी ऐनको दफा ५१ र सहकारी नियमावली २०७५ को व्यवस्थालाई टेकेर व्याजदरको सिलिङ तोकेको रजिष्टार पाण्डेको भनाई छ । उनका अनुसार सहकारीले सन्दर्भ व्याजदर निर्धारण भएसँगै बचतमा भारित औसत व्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत व्याजदरभन्दा सामान्यतया घटी र बचत र ऋणको व्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी हुनुपर्ने व्यवस्था गरेको हो । हो । यसले सहकारी क्षेत्रमा विद्यमान व्याजदरको बिकृतीलाई हटाउने राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले जानकारी दिएका छन् । सहकारी विभागले सन्दर्भ व्याजदर तोक्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संस्था र संघहरुको औसत व्याजदरलाई लिएको उनको भनाई छ ।

मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मर्जरमा जान दवाव दिइरहेको छ । सहकारी विभागले पनि सहकारीलाई नियमन गर्न खोज्नु सकरात्मक हो । तर नीति कार्यन्वयनमा चुनौति रहेको सहकारीकर्मी र संचालकहरुको तर्क छ । बचतकर्ता पनि बैंकभन्दा सहकारीमा कर्जा लिन सजिलो हुने बताउँछन् । तर सहकारीको ब्याज बढि भएकोले व्यवसाय गर्न समस्या परेको उनिहरुको गुनासो छ । सहकारीहरुको संख्या धेरै भएकोले विभागको ध्यान मर्जरतर्फ छ । विभागले सबै सहकारीलाई नियमन गर्ने हो भने गलत बाटोमा लागेका सहकारीहरु सही बाटोमा आउने विश्वास जानकारको छ ।