सरकारको नजरमा सबै उद्यमी, व्यवसायी समान : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अतिवादलाई कुनै हालतमा प्रश्रय नदिने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योग र उद्योगीको हित प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताए ।

उद्योगी र व्यवसायीको भावनाअनुसार नै सरकारले लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उनले अहिलेको विषम परिस्थितिमा सरकार र निजीक्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारको नजरमा सबै उद्यमी, व्यवसायी समान रहेको भन्दै उद्योगी व्यवसायीलाई दलाल, पुँजीपती, सामन्ती नव उदारवाद जस्ता आरोप लगाएर विभाजन गर्न खोजिएकोमा सतर्क रहन आग्रह गरे । अरुलाई झुक्याउन र आफना आलाकाँचा कार्यकर्तालाई अल्मलाउन जसले जे पनि बोल्ने भन्दै उद्योगी व्यववसायीलाई ढुक्क भएर उद्यम गर्न आग्रह गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले कोभिड १९ बाट प्रभावित उद्योग वाणिज्यको विकासमा थप गति दिनुपर्ने धारणा व्यक्त गरिन् । साधारणसभा अन्तर्गत शुक्रबार र शनिबार बन्द सत्रका साथै निर्वाचन हुनेछ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा रहेका छन् ।