महासंघको ५४औं साधारणसभा उद्घाटन बिहीबार, तीन ठाउँमा मतदान हुने

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभाको उद्घाटन बिहीबार हुँदैछ । निजी क्षेत्रको सबै भन्दा ठूलो संगठन महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट गर्ने भएका छन् ।

महासंघले सहभागी हुनका लागि बुधबार जुमको युजर र पासवर्ड समेत सार्वजनिक गरेको छ । उद्घाटन मात्रै होइन बन्द शत्र समेत जुमबाटै हुने महासंघले जनाएको छ । महासंघको उद्घाटन शत्र ११ गते हुने छ भने बन्द शत्र १२ गते हुनेछ । बन्द शत्र सकिए पछि १३ गते भने निर्वाचन हुने छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ ।

यसैबीच महासंघको आगामी १३ गते हुने निर्वाचनका लागि तीन स्थान तय भएको छ । महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुले पनि मतदान गर्न पाउने भएका छन् । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने महासंघले जनाएको छ ।

मतदाताहरु कोही संक्रमित भए चाँडै जानकारी गराउन समेत महासंघले आग्रह गरेको छ । यसअघि तोकिएका तीन स्थानमा नै मतदान गराउने महासंघको निर्वाचन समितिले निर्णय गरेको हो । महासंघको सचिवालयले दिएको जानकारी अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङ्क्वेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गरिनेछ ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । शनिबार बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । सो निर्वाचन भने समूहगत रुपमा छुट्टाछुट्टै स्थान तोकिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्क्वेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा वस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइने भएको छ ।