अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ : अर्थमन्त्री पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड– १९ का कारण यतिखेर अर्थतन्त्र समस्यामा छ । उनीमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ । अर्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारवाहीलगायतक विषयमा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

चार वर्षअघि तपाईँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गोरखा भूकम्प, भारतको नाकाबन्दीलगायत समस्या थिए । तिनलाई येनकेन छिचोल्नुभयो । यसपटक पुनः अर्थमन्त्री बन्दा कोरोना भाइरसको प्रभावले मुलुकको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ ? यस्तो अवस्थामा अर्थतन्त्रलाई गति दिन यहाँले कस्तो योजना बनाउनुभएको छ ?

कोभिड– १९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था देखिएको छ । यसले घट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै । यस अवस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोेड दिएको छु । पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन । दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी । तेस्रो, चालु खर्चमा मितव्ययिता । चौथो, कोभिड– १९ बाट  प्रभावित विपन्न र गरीब वर्गलाई राहत । पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आवश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन । अहिलेलाई कम्तीमा यति ग¥यौंँ भने अर्थतन्त्रले गति लिन सक्छ ।

यी कार्यहरूमा राजनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछु । हामीसँग भूकम्प र नाकाबन्दीको दृढतापूर्वक सामना गरेको अनुभव छ । हामीले सबैसँगको सहकार्य र समन्वयमा भूकम्पपछिको  पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौंँ । अहिलेको अवस्था अलि फरक छ । कोरोनाको प्रभाव र असर बहुआयामिक छन्  तर सबैको साथ र सहयोगमा कोभिड– १९ को प्रभावले सिर्जित चुनौतीहरुलाई हामी सामना गर्न सक्छांैँ । त्यो आत्मविश्वासका साथ मैले काम थालिसकेको छु ।

चालु आर्थिक वर्षको बजेट तयारीका क्रममा कोरोनाबाट प्रभावित नेपालको अर्थतन्त्र पुनः ‘भी’ आकारमा उठ्छ र पुनः जीवन पाउँछ भन्ने चर्चा गरिएको थियो । त्यो सम्भावना कत्तिको रहेको छ ?

कोरानाको संक्रमण कायमै छ । खोप नआउञ्जेल यसको रोकथाम, उपचार र व्यवस्थापनमा लाग्नुपर्ने खाँचो छ । कोरोना संक्रमणको बीच पनि हामी अर्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन शुरु भएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर आर्थिक गतिविधि अघि बढाउन सबै क्षेत्रलाई आग्रह गर्दछु । अर्थतन्त्रलाई थप गति दिन सबै सरोकारवालाहरूले के गर्न आवश्यक छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रका व्यक्तिहरूसंँग छलफल गरिरहेको छु । थप सुझावहरू दिन आह्वान गर्दछु । उत्पादनका भौतिक संयन्त्रमा कोभिड– १९ सङ्क्रमणले खासै असर नगरेकाले हामीले अघि सारेका कार्यक्रमको कार्यान्वयन र सङ्क्रमण घट्दै गएपछि अर्थतन्त्र चलायमान हुन्छ र भी आकारमा पुनरुत्थान हुन्छ भन्ने मेरो विश्वास छ ।

कोरोनाबाट प्रभावित उद्योग, व्यवसाय, रोजगारी खोसिएका नागरिक सबैले सरकारका तर्फबाट साथ र सहयोग खोजेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नेतर्फ तपाईँका के कस्ता योजना छन् ?

कोरोनाले सबै व्यक्ति, वर्ग र क्षेत्रका मानिसहरूलाई असर गरेको छ । असरको मात्रा केही फरक छ र त्यसलाई थेग्न सक्ने क्षमता पनि फरक फरक छ । एकातर्फ ज्यादै विपन्न वर्ग र समुदायका व्यक्तिहरूलाई  बाँच्नको लागि राहतको खाँचो छ । यसतर्फ लाग्दै आएका छौँ । अब त्यसमा समीक्षा गरेर नयाँ ढङ्गले अघि बढ्छौंँ । अति प्रभावित आर्थिक क्षेत्रहरूलाई विशेष सहयोग गरेर पुनरुत्थान गर्नेछौं । बजेट र मौद्रिक नीतिले अबलम्बन गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नेछौँ । साथै प्रभावित क्षेत्रका सरोकारवालाहरूसंँग छलफल र परामर्श गरेर थप कार्ययोजना तर्जुमा गर्नेछौँ । सरकार कोराना प्रभावित सबै व्यक्ति र व्यवसायीहरूको साथमा छ । म कोराना सङ्क्रमणबाट सबै जना बच्न, स्वास्थ्य मापदण्ड र होशियारी अपनाउँदै उपलब्ध रोजगारी र आर्थिक उपार्जनमा संलग्न हुन पनि अपिल गर्दछु । साथै उद्योग व्यवसायीहरूलाई पनि कोभिड– १९ ले सिर्जित परिस्थितिलाई आकलन गरी स्वास्थ्य मापदण्डका साथ काम शुरु गर्न अपिल गर्दछु । समस्याहरुलाई समाधान गर्दै अघि बढ्न सरकार सबै क्षेत्रलाई साथमा लिएर हिँड्न र साथ दिन तयार छ । यसको मर्म र भावनालाई आत्मसात् गर्दै आआफ्नो ठाउँबाट सक्रिय हुन आग्रह गर्दछु । यसो गर्दा स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिन म विशेष आग्रह गर्दछु ।

कोरोनाका कारण सङ्कुचनमा परेको अर्थतन्त्रलाई पुनःजीवन दिएर गति दिने र सरकारले अपेक्षा गरेको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकारका तर्फबाट थप केही सम्बोधन गर्नुपर्छ भन्ने निजी क्षेत्रको मागलाई तपाईँले कसरी लिनुभएको छ ?

निजी क्षेत्रको भनाइ तथा मागलाई सकारात्मक रूपमा लिएको छु । उहाँहरूसंँग थप छलफल र परामर्श गर्ने क्रममा पनि छु । हाम्रो अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अहं रहेको सन्दर्भमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने काम गर्छ । निजी क्षेत्रलाई नवीनतम ढङ्गबाट अहिलेको अवस्थामा नयाँ रणनीतिहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गर्छु । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूको आपसी सहकार्यमा नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने हो । त्यसमा म स्पष्ट छु ।

विपत्तिका कारण आर्थिक गतिविधि कम हुँदा राजश्वमा समेत चाप परेको छ । चालु आवको तीन महिनाको अवस्थालाई हेर्दा तोकिएको लक्ष्य पूरा होला भन्ने यहाँलाई लाग्छ ? यदि लाग्दैन भने लक्ष्य पूरा गराउनेतर्फ यहाँको के कस्ता योजना छन् ?

पक्कै पनि कोरोना भाइरसको सङ्क्रमण,  यसको न्यूनीकरण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीले गर्दा आर्थिक क्रियाकलाप शिथिल भएको हो र अपेक्षित मात्रामा राजश्व परिचालन नभएको हो । यसले गर्दा गत वर्षको पहिलो त्रयमासभन्दा चालु आर्थिक वर्षको पहिलो त्रयमासमा राजश्व सङ्कलन कम रहेको छ । पहिलो त्रयमासमा लिइएको लक्ष्यको ८७ प्रतिशत राजश्व सङ्कलन भएको छ । विसं २०७७ कात्तिक १३ गतेसम्म रू १८९ अर्ब राजश्व सङ्कलन भएको छ । कोरोना सङ्क्रमण ज्यादै बढेर पुनः बन्दाबन्दीको अवस्था नआएमा लक्ष्य नजीक पुग्न सकिन्छ । कोरोना सङ्क्रमण बढ्न नदिन हामी सबैले होशियारी अपनाउँदै आर्थिक गतिविधिमा संलग्न हुन जरुरी छ । आर्थिक गतिविधि बढ्दै गएमा राजश्व सङ्कलन सहज हुन्छ । साथै म राजश्व सङ्कलनका लागि राजश्व चुहावट नियन्त्रण र राजश्वको दायरा फराकिलो बनाउनेतर्फ पनि ध्यान दिनेछु ।

यहाँले पदबहालीका क्रममा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिताको विषयलाई बढ्ता जोड दिनुभएको थियो । किन ती विषय यहाँको प्राथमिकतामा परे ? 

कोभिड– १९ ले गर्दा स्वास्थ्य क्षेत्रको खर्च ह्वात्तै बढेको छ । आर्थिक गतिविधिमा कमी आउँदा राजश्व सङ्कलनमा दवाव परेको छ  तर पनि कोभिड– १९ का सन्दर्भमा  जनताको स्वास्थ्य परीक्षण र उपचारमा लाग्ने खर्चमा कुनै कमी हुन दिँदैनौँ । यस सन्दर्भमा चालु खर्चमा अनुशासन, मितव्ययिता र पारदर्शिता हुनैपर्छ । वित्तीय अनुशासन, खर्च कटौती  र गरिएका खर्चहरू पारदर्शी ढङ्गले जनसमक्ष राख्नुपर्छ भन्ने मान्यताका आधारमा मैले जोड दिइएको हुँ ।

नयाँ संविधान कार्यान्वयनमा आएलगत्तै हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याउने व्यवस्था गरिए पनि कार्यान्वयनको कोणबाट हेर्दा अपेक्षा गरेअनुसार हुन सकेको छैन । यस्तो अवस्थालाई कसरी सुधार्नुहुन्छ ? 

बजेट कार्यान्वयन, त्यसमा पनि पूँजीगत खर्चको कार्यान्वयन कमजोर रहँदै आएको छ । जेठ १५ गते बजेट आए पनि पूँजीगत खर्च बढ्न नसक्नुमा हाम्रो काम गर्ने शैली, लामो खरीद प्रक्रिया, ठूला ठेक्कापट्टामा आउने अन्य व्यावहारिक झमेला, आयोजना व्यस्थापनमा सरकारी संयन्त्रको क्षमता र निर्माण व्यवसायीहरूको क्षमताले प्रभाव पारेको छ । यसको निराकरणतर्फ म लाग्ने छु । पूँजीगत बजेट बढी भएका मन्त्रालयहरूलाई कामको गति बढाउन उत्प्रेरित गर्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम गर्नुछ । ध्यानपूर्वक समयमैै काम सम्पन्न गर्न विकास निर्माणसँंग जोडिएका सबै कर्मचारी, निर्माण व्यवसायी र अन्य सरोकारवालाहरूलाई अपिल गर्दछु । विकास आयोजनाहरूलाई बजेटको अभाव हुन दिन्न तर केही क्षेत्रमा भने प्राथमिकतामा तलमाथि हुन सक्छ । यतिबेला हामी सबैको सर्वोच्च प्राथमिकताको विषय जनताको स्वास्थ्य सुरक्षा नै हुनुपर्छ । जनताको जीवन र जीविका रक्षा गर्न अर्थ मन्त्रालयले आफ्नो ठाउँबाट कुनै कसर बाँकी राख्ने छैन । म  सम्बन्धित पक्षलाई नीति तथा कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न विशेष आग्रह गर्न चाहन्छु । हामी सबै आआफ्नो ढङ्गले विशेष परिस्थितिमा विशेष रुपमा सक्रिय भएर लागेमा ठीक ढङ्गले अघि बढ्न सकिन्छ ।

आगामी आर्थिक वर्षको बजेट बनाउने कामसमेत शुरु भयो होला । आगामी वर्षको बजेटको भ्र्रूण कस्तो छ  ?

आगामी वर्षको बजेटले कोभिड– १९ ले पारेको प्रभावलाई निस्तेज पारी पुनः आर्थिक वृद्धिदर बढाउने, गरीबी निवारण गर्ने र समन्यायिक र सन्तुलित विकासलाई जोड दिने गरी अगाडि बढ्न लागेको छु । हामी अहिले कोभिड– १९ को प्रकोपका बीचमा छौँ । यसले विश्वका सबै देशहरुलाई असर पारेको छ र चुनौतीहरु सिर्जना गरेको छ । खोप नआउञ्जेल यो रोग हामीसँगै रहन सक्छ ।  त्यसैले हामी सबैले स्वास्थ्य मापदण्ड अपनाएर आर्थिक गतिविधिमा संलग्न हुनुपर्छ । साथै प्रदेश सरकार र स्थानीय तहहरूले पनि कोभिड– १९ बाट प्रभावित  जनता र व्यवसायहरूको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न आआफ्ना क्षेत्रबाट थप प्रयासहरू गर्नु जरुरी छ । अर्थ मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यसबारे जानकारी र सुझावहरूको अपेक्षा गरेको छु । हामी सबै एक जुट भएर लाग्यौँ भने कोराना महामारीलाई परास्त गर्न र समृद्धिको यात्रालाई गति दिन सक्नेछौं ।