जहाँ अनलाइन डाटा खरिद गर्न एक छाक खाना छाड्नुपर्छ !

बीबीसी – मध्य अफ्रिकास्थित कंगोको विश्वविद्यालयमा पढ्ने एक विद्यार्थीले बीबीसीसँगको कुराकानीमा भने, “मलाई भोक लागिरहेको थियो । त्यसैले म त्यस दिन द्विविधामा परेँ, खाना खाऊँ या २४–घण्टे अनलाइन डाटा खरिद गरौँ ?”

इन्जिनियरिङको पढाइ गरिरहेका २७ वर्षीय उनी, आर्थिक रुपमा आफ्ना अभिभावकमा निर्भर छन् । तर पढाइको अन्तिम वर्षको कक्षाका लागि रिसर्च गर्न इन्टरनेटको प्रयोग गर्नुपर्ने भएपछि उनी अत्यन्तै कठिन अवस्थामा पुगेको बताउँछन् । उनी कंगोको किन्सासा भन्ने ठाउँमा बस्छन् जहाँका मानिसले आफ्नो आम्दानीको २६ प्रतिशत खर्च गरेर मोबाइल डाटा खरिद गर्ने गरेका छन् । उनी भन्छन्, “त्यतिबेला मैले आफूलाई एक दिन भोकै बस्दामा म मर्दिन भनेर सम्झाएँ । त्यसैले इन्टरनेट खरिद गरेपछि म भोको पेट सुतेँ ।”

२०१९ को रिपोर्टअनुसार कंगो विश्वकै सबैभन्दा महङ्गो इन्टरनेट भएको देश हो । कंगोकै अर्का एक व्यक्तिले पनि इन्टरनेटसँग सम्बन्धी केहीवर्ष अगाडिको एक दुखद् घटना सुनाए । सहरका प्रायः मानिसहरु जसरी नै अनलाइन हुन साइबरक्याफे गएका उनी त्यो समयमा स्नातकोत्तर कोर्सका लागि नेदरल्यान्डस्थित एक प्रतिष्ठित विश्वविद्यालयमा निवेदन भरिरहेका थिए । उनले भने, “इन्टरनेट यति सुस्त चलिरहेको थियो कि मलाई पूरै फर्म भर्न तीन घण्टा लाग्यो ।”

तर उनीसँग एक घण्टाका लागि मात्र पर्याप्त पैसा थियो । यस्तोमा उनले आफ्नो अवस्था त्यहाँका म्यानेजरलाई सम्झाए र पैसा पछि बुझाउन देलान् भन्ने सोचेका थिए । तर म्यानेजरले उल्टै उनलाई अपशब्द प्रयोग गर्दै चिच्याएर गाली गर्न सुरु गरेको उनी बताउँछन् । “साइबर क्याफे गरिबहरुका लागि होइन,” भन्दै आफूलाई ठूलो स्वरमा हप्काएको उनले बताए ।

यसपछि म्यानेजरले पैसाको बदलामा आफूले लगाइरहेको नयाँ जुत्ता फुकालेर लगेको उनी बताउँछन् । यसरी आफू खाली खुट्टा लामो समय हिँडेर घर जान बाध्य भएको उनले बताए । उनी भन्छन्, “त्यतिबेला मलाई अत्यन्त लज्जाजनक महसुस भयो ।”

हाल एक संरक्षण संस्थामा काम गर्ने उनी त्यसपछि सो निवेदन स्वीकृत भयो भएन भनेर कहिल्यै हेर्न नपाएको बताउँछन् । तापनि एक हप्तापछि उनले आफ्नो जुत्ता भने फिर्ता लिने प्रयास गरेका थिए तर म्यानेजरले जुत्ता बेचिसकेको भनेपछि उनी खालि हात फर्किनुपरेको बताउँछन् । उनले असन्तुष्टि जनाउँदै भन्छन् , “कसैले पनि केबल इन्टरनेटका लागि यति सम्म भोग्नु नपर्ने हो ।”

कंगो अफ्रिकाको चौथो सबैभन्दा धेरै जनसङ्ख्यायुक्त सहर हो जहाँ प्रशस्त मात्रामा धातुहरु पाइन्छन् । त्यसैबाट स्मार्टफोन निर्माण गरिन्छ । तर पनि धेरै नागरिकहकरुसँग स्वास्थ्य, खानेपानी, बिजुलीलगायतका साधारण सुविधाहरुको समेत सहज पहुँच छैन । यसरी संयुक्त राष्ट्र संघले २०१६ मा इन्टरनेटको पहुँच सबै मानिसको अधिकार भएको घोषणा गरे पनि कंगोका बासिन्दाका लागि भने अनलाइन आउनु लक्जरी बराबर रहँदै आएको छ । अहिले पनि त्यहाँका केबल १७ प्रतिशत जनसङ्ख्या मात्र इन्टरनेटको पहुँच भित्र रहेको राष्ट्रिय सञ्चार निकायले जनाएको छ । त्यस्तै अर्को रिपोर्टले चाहिँ इन्टरनेट प्रयोगमा लैङ्गिक भिन्नता रहेको देखाएको हो जस अनुसार ३३.८ प्रतिशत अनलाइन पहुँच हुनेमा पुरुष छन् भने महिलाहरु चाहिँ २२.५ प्रतिशतले मात्र यो सेवाको उपयोग गर्न पाइरहेका छन् ।

इन्टरनेट प्रयोग यति महङ्गो हुनुका पछाडिको प्रमुख कारण बजार प्रतिस्पर्धाको अभाव र अधिकतम कर रहेको बताइएको छ । त्यसैगरी त्यहाँका अधिकांश मानिसहरुलाई इन्टरनेको शुल्क कति हुनुपर्छ भन्ने स्पष्ट ज्ञान नभएकाले पनि कम्पनीहरु जथाभावी महङ्गाइ बढाउन स्वतन्त्र रहेको बताइएको छ ।
यतिका वर्षसम्म टेलिकम फर्महरुको सङ्ख्या वृद्धि नहुनुले प्रतिस्पर्धा सिमित गराएको छ । यस्तोमा कम्पनीहरुले जति शुल्क निर्धारित गरेपनि ग्राहकले त्यसलाई अस्वीकार नगर्ने र उनीहरुलाई रोक्न पनि नसकिने प्राविधिक विद् एवम् प्रोफेसर कोड्जो बताउँछन् । जस्तै कि २०१६ मा कंगोका सबै टेलिकम्युनिकेसन कम्पनीले मोबाइल डाटाको शुल्क ५०० प्रतिशतले बढाएका थिए ।

वास्तवमा ती कम्पनीहरुले राष्ट्रिय, प्रदेशक र स्थानीय तह सम्मलाई कर बुझाउनुपर्ने हुनाले पनि ग्राहकहरुमाथि बोझ पार्ने गरेको प्रोफेसर बताउँछन् ।

यसबीच मार्च र अक्टोबरमा युवाहरुले ‘ल लुचा’ नामक एक विरोधको अभियान सुरु गरेका हुन् जसपछि सरकार यस मुद्दामा हस्तक्षेप गर्न दबाबमा आइरहेको बताइएको छ । सरकारले निजी कम्पनीहरुले आफ्ना नागरिकहरु ठगिएको हेरेर बस्नुको सट्टा केही कदम उठाए हुन्थ्यो भन्ने उनीहरुको चाहाना रहेको बिएनभेनु मातुमो बताउँछन् जो पनि यस अभियानमा सहभागी छन् । विद्यार्थीहरु मात्र नभएर त्यहाँका अरु अनलाइन व्यवसायीहरु पनि महङ्गो इन्टरनेटको मारमा छन् ।