चिनियाँ ‘फेस-स्वाप एप’ भाइरल, गोपनियतामाथि खतरा

गार्जियन – एक नयाँ चिनियाँ ‘फेस स्वाप’ (अनुहार परिवर्तन गर्ने) एप अहिले भाइरल भइरहेको छ । कुनै पनि सेलिब्रेटी, स्पोर्टस् स्टार अथवा अन्य व्यक्तिहरुको अनुहार राखेर भिडियो बनाउन मिल्ने यो एप अहिले लाखौं डाउनलोड भएको छ ।

यो एप विश्वभर भाइरल भएसँगै गोपनियताका विषयमा सुरक्षा खतरा भएको भन्दै आलोचनासमेत भइरहेको छ । यो एप प्रयोग गर्ने केही व्यक्तिहरुले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टेक्नोलोजीले कसरी व्यक्तिको पहिचान प्रमाणिकरण गरिरहेको छ भन्‍ने विषयमा प्रश्नहरु उठिरहेका छन् ।

यसका प्रयोगकर्ताहरुले यसको नीतिले आफ्नो गोपनीयतामाथि खतरा उत्पन्न हुने भन्दै आलोचना गरेका छन् । जाओ नाम गरेको उक्त एप चिनियाँ आइओएस एप स्टोरमा शुक्रबार अपलोड गरिएको थियो । एप बनाउने व्यक्ति एन्नीले चिनियाँ सामाजिक सञ्‍जाल विबोमा पोस्ट गरेर एकैपटक धेरै डाउनलोड भएर एप नै क्र्यास भएको बताएका थिए ।

सेप्टेम्बर १ सम्ममा चिनियाँ आइओएस एप स्टोरबाट सबभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा थियो । एन्नीका अनुसार यो विश्वभर डाउनलोड भइरहेको छ ।
यो एप प्रयोकर्ताको मोबाइल नम्बरबाट लग इन गर्न सकिन्छ । यसमा मोबाइलबाट खिचेको आफ्नो तस्बिर अपलोड गरेर कुनै पनि सेलिब्रेटीको भिडियोमा आफ्नो अनुहार राख्न सकिन्छ । उक्त भिडियो शेयरसमेत गर्न मिल्छ । उक्त एपमा चिनियाँ सेलेब्रेटीसँगै अन्य चर्चित सेलिब्रेटीका अनुहारहरु पनि राखिएका छन् ।
यसअघि डेटिङ एप बनाउने कम्पनी मोमो इन कर्पोरेसनले बजारमा ल्याएको हो । सन् २०१४ मा न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । मोमोले भने यसको गोपनीयताका विषयमा उठेका प्रश्नका विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।