नागरिकता विधेयक बहुमतले पारित, गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्यो

0

काठमाडौं : नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । 

नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहेका थिए । 

नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।

पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणको प्रक्रिया अघि बढ्नेछ । 

पारित विधेयकले जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खोलेको छ । आमाको नामबाट नागरिकता पाउने बाटो पनि खुलेको छ । यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ । 

यस्तै विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोलेको छ । विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

यस्तै, संशोधनमार्फत सरकारले आमा वा बाबुको थर रोज्न पाउने सुविधा पनि स्वीकार गरेको छ । 

यस्तै, ठेगाना रोज्न पाउने सुविधा पनि सरकारले स्वीकार गरेको छ । जस अनुसार नागरिकता लिने व्यक्तिले अब आमा वा बाबुको थर रोजेर नागरिकता पाउने छन् । 

Leave A Reply

Your email address will not be published.