भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा

0

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । 

लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन सोमबार आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको हो । 

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार शनिबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेका थिए । 

भट्टराईले केही दिनअघि नै भारतबाट पनि उच्च सुरक्षा अधिकृत आइसकेको बताए । भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको छ ।

मोदीको स्वागतका लागि लुम्बिनीलाई सिंगारिएको छ । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । 

मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.