“प्रवासमा नेपाली भाषासहित्यको अमरत्वः हामी सवैको साझा दायित्व” प्रमुख नारा बोकेको अगस्त २०१५, १६ र १७ तारीखको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेल्जियम ।

मान्छेहरुलाई कहिलेकाँही अघोषित सँकल्पहरुले अचेटीरहन्छन् । तिनै सँकल्पहरु हुन जसले निद्रा, सपना र यथार्थमाथी एकैचोटी गस्ती हालेर झक्झकाईरहन्छन् । बेल्जियम प्रवेश गरेपछि जीवनका धेरै सपना र रहरहरु समयले निलिदिएपनि कविता र लेखनको लतलाई निल्न सकेन बेल्जियमले ।

सनको २००३ देखिनै नेपाली साहित्यको राजधानीले सुुन्नेगरी यहाँबाट एकपटक बोलाउने संकल्पले घर बनाएको थियो । व्यक्तिगत इच्छा हुनु एउटा मनोभावना हो तर यो संकल्पको गृह निर्माण सामूहिक र संस्थागत संलग्नता विना सम्भव थिएन । यहींबाट संकल्पको रथले आफनो यात्रा भने तय गरिसकेको थियो ।
२००७ को एउटा बसन्तकालीन समय हो, हल्ला सुनियो ब्रसेल्समा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको गठन भयो, समसामयिक प्रकाशनको संगालो प्रकाशन गरिदैछ र काव्य गोष्ठी हुदैछ । मन अडिएन, सोधखोज गर्दै कार्यक्रमस्थल पुगियो, कविता वाचन गरियो । अनेसास बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण बजगाईको सभापतित्वमा एनआरएन केन्द्रीय सदस्य रवीन्द्रमान श्रेष्ठले शव्दाञ्जली प्रथम अंकको लोकार्पण गर्नुभयो । ३ अंक पछि यो निरन्तर भएको छैन । ३०, ४० जना भाषाप्रेमी र शुभेच्छुकहरुको उपस्थितिमा मनमा एउटा अघोर आशा बोकेर फर्किएं । त्यसपछि शुुरु भयो अनेसासमा आबद्धता र निरन्तर सक्रियता । जिम्मेवारी र कार्यक्रमका सिलसिलावीच सहयात्री थिए संकल्पहरु । कृष्णजी २०११ तिर बेलायत बसाई बसाई सरेपछि तत्कालीन उपाध्यक्ष बिमल गिरीले बेल्जियम अनेसासको नेतृत्व लिनुभयो २०१३ सम्मको बैधानिक हैसियतमा ।

हामी एउटा यात्रामा निरन्तर अविचलित रह्यौ । लक्ष्मी, भानु, मोती मात्रै होइन विविध गोष्ठी र भाषा सरोकारका जयन्तीहरु हाम्रा पर्वहरु रहिरहे र रहिरहनेछन् । यी अवसरहरुमा हामीहरु जम्मा भैरह्यौ, अग्रजहरुलाई स्मरण गरिरहयौ र कविताको जमघट घना हुदैरह्यो । कार्यकाल २०१३—१५ का लागि अनेसास बेल्जियमको नेतृत्वको अभिभारा लिने अवसर मलाई प्राप्त भयो । लाग्यो यो जिम्मेवारीलाई कविताको हेडक्वाटरमा यहाँको चित्र देखाउने, यूरोपका नेपाली कलमबादकहरु जम्मा भएर विमर्श गर्ने, नेपाली साहित्यकेन्द्रका अग्रजहरुलाई सुन्ने र सिक्ने महाउत्सवको समय हो । निश्चित रुपमा हरेक नेतृत्वले एउटा ऐतिहासिक नवीनव्दार खोलेर अगाडी बढनुपर्छ । यसैका लागि १४ डिसेम्वर २०१४ मा अनेसासको डिसेम्वर बैठकमा बेल्जियममा २०१५ मा यूूरोपस्तरीय अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्ने प्रस्ताव टेवल भयो । व्यापक उत्साह र चुनौतीका वीच हामीले २०१५ अगस्त १६ र १७ तारीख लाई सम्मेलनको दिन छनौट गरी एउटा लक्षको भारी बोक्ने निर्णय गर्यौं ।
बिराट उत्सव तयारीको रथका चक्काहरु ८ फ्रेवुुअरी २०१५ मा लुभेनमा मुक्तक सन्ध्याको चोपिलो साइतबाट अगाडी बढ्यो । १५ मार्चमा त्यो रथ कविता गोष्ठीका लागि कविहरु बोक्दै नेपाली समुदाय गेण्टको आयोजनामा गेण्टका नेपाली स्रष्टाहरुवीच सम्मेलनको ध्वजा फहराएर फर्कियो । बासन्ती अप्रिल महिनाबाट प्रचार प्रसार र सहयोगका अपील बोकेर हामीहरु यहाँका नेपाली समुदायका व्दारहरुमा पुगिरह्यौ । सहयोग र सहृदयताले झोलीहरु भरिदै गए । नेपाली राजदूतावासले अभिभावकीय हौसला दिइरहयो, एनआरएन लगायत वीसौं नेपाली संघसंस्थाहरु एउटै मार्गमा लम्कियौं, स्थानीय गैसस नियमक निकायले बैधानिकता स्वीकार गर्यो । यस्तो लागिरह्यो यो समरको लक्ष्य भेदनमा निस्किएको हाम्रो रथपछाडी हजारौं सेनाहरुको लर्को छ ।

हामीहरु दवावमा पर्दै पनि गयौं । कम्तीमा पनि यूूरोपका केही राष्ट्र, अमेरिकाबाट बहालवाला र भूपू केन्द्रीय पदाधिकारी तथा नेपालबाट केही साहित्यिक हस्तीहरुको उपस्थिति बेगर यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्ने र सम्मेलनको औचित्य स्थापित होला भनेर । तर समय नजिकिदै गर्दा अमेरिकाबाट अनेसासका संस्थापक अध्यक्ष होमानथ सुवेदी, बर्तमान अध्यक्ष पदक वि.क., बेलायतबाट केन्द्रीय उपाध्यक्ष सुमल कुमार गुरुङ, पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई, गीतकार कृष्ण क्षेत्री, पोर्चुगलबाट मोहन आचार्य जलद, बाबुराम भुषाल, नेदरल्याण्डबाट हरि पौडेल र सूर्यराज गिरी, जर्मनबाट एनआरएनका पूर्व अध्यक्ष एवँ साहित्यकर्मी जीवा लामिछाने, खडग न्यौपानेजीहरुको उपस्थितिको सुनिश्चितताले राहतमा थियौं तथापी नेपालका पाहुनाहरुको छनोट, भीसा, उपस्थिति र खर्च लगायतका चुनौतीहरुले पिरोलिरह्यो ।
नेपालबाट पाहुना छनोट पनि सन्तुलन र सम्मानका हिसाले एउटा सापेक्षित निर्णय लिन जरुरी थियो । व्दिविधा जारी थियो कसलाई निम्तो दिने कसलाई नदिने ? यसबारेमा एउटा मापदण्डको अनुसरण गर्यौं र स्रष्टा एवँ तत्कालीन मन्त्री नरहरि आचार्य, शारदा शर्मा, नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, प्रा.डा. खगेन्द्र प्रसाद लुइटेल, नाट्य सँगीत प्रज्ञाप्रतिष्ठानका कुुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्त, मधुपर्कका सम्पादक स्रष्टा श्रीओम श्रेष्ठ, स्रष्टा एवँ पूर्व प्राध्यापक एल.वी. क्षेत्री चितवन, मोफसलमा क्रियाशील सर्जक काजी रोशन बागलुङ, इन्द्र बिकल्प पर्वत, रमेश अधिकारी संखुवासभा, कान्तिपुर सञ्चारकर्मी शेखर अधिकारी समक्ष निम्ता पुर्यायौं । तर अग्रज आचार्य, शर्मा, नई दम्पती, काजी रोशनले कार्यव्यस्तताका कारण असमर्थता जाहेर गर्नुभयो । कार्यक्रममा समयाभावले सहभागी हुन नसक्ने तत्कालीन राजदूत राममणि पोखरेलको असमर्थताले केही खल्लाएपनि निम्ता स्वीकार गर्नुहुने अग्रजहरुको कूटनैतिक प्रक्रिया संगै संकल्प रथले तीव्रता लिइरह्यो । १९ अप्रिलमा नेदरल्याण्डमा नेपालका तत्कालीन सँचारमन्त्री डा. मिनेन्द्र रिजालको आतिथ्यतामा हरि पौडेलको कृति विमोचनसंगै सम्मेलनको प्रचारले स्थान पायो, सम्मेलनकै माइक बोकेर २५ मेमा पोर्चुगल पुग्यौं ।

सयौं सुझाव, रचनाहरु प्राप्त भए, करीव ८० जनाले स्वेच्छिक आर्थिक सहयोगको वचन दिनुभयो, १० जना सहृदयीहरुले वासस्थान व्यवस्थाको निश्चिति दिनुभयो । लाग्थ्यो व्यक्तिगत इलमबाट उव्रिएको उर्जाले रथ तानिरहनु सहज थिएन तर कठीन पनि लागेन ।
म भाग्यवसै भन्छु नेपालका लागि यहाँका आधिकारिक निकायबाट स्पोन्सरहरु तयार भए तर जर्मन राजदूतावासको समयाभावले झण्डै कार्यक्रम भन्दा पछि १७ अगस्तको समय उपलव्ध हुने खवरले झट्का लाग्यो, तर पाहुुनाहरुकै सार्थक प्रयासले ७ अगस्तको समय र १२ अगस्तमा भीसा सम्बन्धी निर्णय प्राप्त हुुने खवरले हराएका निद्राहरु फर्किए । भयो पनि यसै हतार हतार १४ अगस्तमा उहाँहरु बेल्जियम आइपुग्नुहुने भयो । हामीहरु विहान, दिउसो, बेलुका गर्दै १५ अगस्त सम्म पाहुनाहरुलाई ब्रसेल्स बिमानस्थलमा स्वागत गर्ने दिन कम्ता रोमाञ्चकारी थिएनन् । लाग्थ्यो १५ अगस्त सम्म बेल्जियम कवितामय भैसकेको थियो बेल्जियमका ५० औं सर्जकहरुका जीवनको सवैभन्दा उद्वेगकारी प्रवाहले सम्मेलनस्थलको गन्तव्य खोजिरहेको थियो । अझ एक कदम अगाडी भन्दा अगस्त २०१५, १५, १६ र १७ बेल्जियम साहित्य, शव्द र नेपाली स्रष्टाहहरुको भीडमा हरायो ।

अन्ततः चीरप्रतीक्षित १६ अगस्त आइतवारको दिन पनि आयो । खचाखच ओन्स हाउस नामक सभागृहभित्र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको ऐतिहासिक क्षणको प्रसव चलिरहे जस्तै थियो अनेसास बेल्जियम महासचिव दीपकज्योति पौडेलको उदघोषणमा अनेसास बेल्जियम अध्यक्षका हैसियतमा मैले सभापतित्व ग्रहण गरें त्यसपछि क्रमशः प्रमुख अतिथी सरुभक्त, विशिष्ट अतिथीहरु होमनाथ सुवेदी, पदम वि.क., प्रा.डा. लुइटेल, जीवा लामिछाने, एल.वी. क्षेत्री, सुमल कुमार गुरुङ, राजदूतावासका प्रथम सचिव लक्ष्मण खनाल, श्रीओम रोदन, कृष्ण बजगाई, अर्जुन श्रेष्ठ, रमेश अधिकारी, इन्द्र बिकल्प, शेखर अधिकारीहरुको आसन ग्रहणले मँच शोभायमान भएपछि प्रमुख अतिथी, संस्थापक केन्द्रीय अध्यक्ष, केन्द्रीय अध्यक्ष र म स्वयंले सामूहिक रुपमा उदघाटन कर्म गर्यौं । कोषाध्यक्ष परमानन्द सापकोटाले भानुको सम्झनामा श्लोकहरु पस्कनु भयो । मञ्चासीन लगभग सवैले मन्तव्य सँगै प्रवासी नेपाली साहित्य र काठमाडौंको अन्र्तसम्बन्ध र चरित्रमाथी प्रकाश तथा भविष्यका मार्गहरु औंलाउनु भयो । वीसौं कविहरु सुनिए ।
अनेसास बेल्जियम निवर्तमान अध्यक्ष बिमल गिरी र सदस्य सौरभ कारञ्जितका मुक्तक संग्रह र मेरो खण्डकाव्यको संयुक्त लोकार्पण भयो, कविताबारे चर्चा भए, लेखिने नलेखिने जे भएपनि एउटा प्रसवले इतिहास जन्मायो । संयोगः सम्मेलनको घोषणा र समापन मिति पनि नौ महिनैमा भएछ । भोलिपल्ट १७ अगस्त— लुभेन स्टेशनको हिमालय रेष्टूरेण्टमा नितान्त साहित्यिक मन्थन भयो । बिज्ञ पाहुना, सहभागी स्रष्टाहरुवीच प्रवासका लेखकीय वेदना, किनारिएका आवाज, बाध्यता, योग्यता, सक्रियता सवै क्षेत्रमाथी दृष्टिगोचर गर्ने प्रयास भयो । अनेसास यूरोप क्षेत्रीय समितिको जन्म पनि भयो । अग्रजहरुका अनुभव र ज्ञानको टँकन र सहभागीहरुको आत्मिक सन्तुष्टि घोषणापत्रमा बोलेपछि ९ महिने गतिवान संकल्पको रथले बिश्राम लियो । अव फेरि कहिले होला यस्तो महायज्ञ ? र तरंगित भैरहौंला ?

यति विराट सभाका लागि म मेरो नेतृत्वको टीमका निवर्तमान अध्यक्ष बिमल गिरी, उपाध्यक्ष राजकुमार पुडासैनी, महासचिव दीपकज्योति पौडेल, सचिव जे.वी. शेर्पा, कोषाध्यक्ष परमानन्द सापकोटा, सदस्यहरु— विष्णु सापकोटा, मोहन खत्री, नन्दु घले, डिल्ली अम्माई, पञ्चम अधिकारी, हरि श्रेष्ठ, वासस्थान सहितका थोरै सहयोगी महेन्द्र पन्त, रमेश सापकोटा, जानकी गुरुङ, सीता सापकोटा, गोपाल सापकोटा, खडक के.सी., झलक के.सी, एनआरएनका तत्कालीन अध्यक्ष प्रेम गुरुङ, एनआरएनका तत्कालीन यूरोप संयोजक अर्जुुन श्रेष्ठ लगायत वीसौं सँघसँस्था र नेतृत्वहरु, लगभग सयौंजना आर्थिक सहयोगी (क्षमाप्रार्थी छु यहाँ सवै नाम उल्लेख गर्न सम्भव भएन) र सयौं स्रष्टाहरुलाई सम्मेलन सफलताको बार्षिक पूंजी, हर्ष, यश र अंश प्रदान गर्दै सुखद स्मरण गर्न चाहन्छु । जुन तपाईहरुविना सम्भव थिएन ।
बागलुङ, हालः लुभेन बेल्जियम ।