मुल्याहा बाजेको चमत्कार-कथा नेपालको !

0

[तानतुन  ]

मनोविज्ञानसँग सम्बन्धित यो भनाइका बारेमा धेरै विवाद हुन सक्ला । असल मान्छे प्रफुल्ल रहने यो कुरा हामा आइरन स्टिलका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई भेटेपछि हो कि जस्तो लाग्यो ।
कुराकानीका क्रममा मुस्कुराइरहने । जोडले नै हाँस्ने उनी ठूला व्यापारी जस्तो लाग्दैनथें । उनको कथा पत्यार नै नलाग्ने छ । तर त्यो यथार्थ हो । कुराकानीका क्रममा चिनासमेत देखाएका उनी वि.सं. २००० सालमा जन्मेका रहेछन् । राजधानीको झोंछेमा जन्मेका उनको अपत्यारीलो कथा सुनेपछि उनले गर्न सक्छन् भने अरुले किन गर्न नसक्ने भन्ने हिम्मत आउने रहेछ । प्रेरणादायी यो कथाले उनी चमत्कारी मान्छे पो हुन् कि जस्तो लाग्ने ।
बच्चामा उनलाई मुल्याहा भनियो । मुल्याहा भनेको अरुलाई पिर्ने पिराहा हो । ज्योतिषले १२ वर्षसम्म यसलाई घरमै राखे पनि बहुत पिराउछ भनेपछि उनी घरबाट तिरस्कृत भए । सानो बच्चा उनलाई सबैले गालामा ≈या मुल्याभन्दै पिटँदै हिँड्ने गरेको बताउथे । जसले पनि कान तान्ने र पिट्ने गर्दा आफ्नो कानको लोती अलिकति चुँडिएको पनि उनले देखाए । गाला नै एकापट्टि रातो रहेछ, अहिलेसम्म । उनले त्यो पनि देखाए ।
बालकृष्णले आफ्नो घटना यसरी सुनाए– ‘जन्मने वित्तिकै मुल्या भयो भनेर बाबुले मलाई भरियालाई बेचे र त्यसको पैसाले तुरुन्तै केरा किनेर खाए, मलाई किन्ने भरिया केही दिनमा मर्यो रे त्यसपछि त मैले माया भन्ने कुरा झनैं पाएन।’ घरमा आमा बाबुको नै माया नपाएपछि उनी सानैमा ट्रकको खलासी भएर हिँडे । कहिले हेटौंडा, कहिले चितवन, कहिले कहाँ तातो भात खानका लागि । जबकि उनी राजधानीमा धनी कहलिएको ३२ कोठी महाजन गोकुलकृष्णका पनाति थिए । रामको वनबास जस्तै उनको त्यो कालो १२ वर्ष सकियो ।
स्कुल भर्ना गर्ने कुरा आयो । १३ वर्षमा एक कक्षामा भर्ना भए । कक्षामा जानै लाज भयो । उनी ठूलो थिए । अरु सबै फुच्चे फुच्चे । पढ्नै नसकेर र नजानेर फेल भए । महेन्द्ररत्न भन्ने साथीको मार्कसिट लिएर उनी पाँचमा भर्ना भए । बहुत दुःख गरेर पढे । पास भए । नाम उसको भए पनि पास हुने त आफू नै हो भन्ने आत्मबल उनमा पलायो । अब कसरी आफ्नो नाम बालकृष्ण राख्ने भन्नेमा उनी गए । कक्षामा महेन्द्ररत्न भनेर बोलाउँदा उनी बोल्न मान्दैनथें । पछि हाजिर छु है सर भनेर भनेपछि शिक्षकले अघि किन नबोलेको भनेर हकार्थे । उनी नबोलेको उनलाई मात्र थाहा थियो । पहिले महेन्द्रको थर केरेपछि जाँच दिने बेलामा जबरजस्ती उनले नाम नै बालकृष्ण भनेर लेखे । के नाम राखेर जाँच दिएको भनेर हप्काएपछि उनले सबै बेलिविस्तार लगाएर भनेछन्– ‘पढने त मै हुँ नि सर । जाँच दिने त मै हुँ नी सर ।’ यति भनेपछि शिक्षकले पनि लौं त लौं भनेर उनको नाम बालकृष्ण राखिदिए । त्यहाँदेखि उनी वास्तविक नाममा आए । नत्र २ नामले उनलाई भित्रै खाइरहेको थियो ।
कक्षा फड्कदै उनले ७ वर्षमा एसएलसी दिए । रात दिन नभनी पढ्दा उनलाई एकपल्ट टाइफाइडसमेत भएछ । पढ्नुपर्छ भन्ने बुझे । २०२५ सालमा एमकम गरे । २०२७ सालमा एमए पनि । आफ्नो परिवारमा सबैभन्दा बढी पढ्ने भएर निक्ले । पढ्दै जागिर खाँदै गरेका उनी नेसनल ट्रेडिङ हुँदै कृषि विकास बैंकमा जागिर खाए । प्राविधिकलाई उतिबेला बढी पैसा आउने भएकाले उनले सानोठिमी प्राविधिक शिक्षालय पढाउन गए । बिहान सद्दे भएको बोली बेलुका सुक्थ्यो । तर पनि पढाउन छाडेनन् । किनकि जानेकै त्यही थियो । सरस्वती क्याम्पस हुँदै विभिन्न क्याम्पसमा पढाएर प्रोफेसरबाट रिटायर्ड छन् अहिले ।
कर्म गर्ने मान्छे बलियो हुन्छ । उनलाई थाहा थियो । उनले पढेका थिए । उर्लंदो भेल आए पनि नदीमा नाउ चल्न छाड्दैन । डुब्ने डरले पानीमा पौडन कोही छाड्दैन । जो हारेर चुप लागेर बस्छ । जित त्यसलाई देखेर हाँस्छ । उनी दुनियाँलाई जित्न खोज्थे । काम गरेरै ।
पैसा र समय जत्ति भए पनि पुग्दैन । म्यानेज गर्नुपर्छ । यो बुझे पनि पैसा त चाहिँयो । त्यो के गरेर कमाउने । व्यापारको पोखरीमा नै पैसा हुन्छ । उनले बुझे । परिवार बढ्दै गएपछि व्यापार गर्ने सोचे । थोरै जम्मा पारेको पैसाले उनले जगत ट्रेडिङ भन्ने डन्डी र छडको पसल खोले । रातको १२ बजे पनि ढोका ढकढकाएर पैसा तिरेपछि उनले जति पनि उधारो पाए । पढाउँदै पसल चलाउँदै गरे । विस्तारै शेयर किन्न थाले । हिमाल सिमेन्टमा २०४२ सालमा सर्वसाधरणको प्रतिनिधि बने । २०४५ मा नेपाल बैंकमा सर्वसाधरणका तर्फबाट डाइरेक्टर ।
नेपाल बैंकको डाइरेक्टर भएपछि उनको स·त सचिवहरूसँग हुन थाल्यो । व्यापार बढी चल्यो भनेर उनीसँगै उनलाई सामान दिने कम्पनीले पसल खोल्यो । समस्या नै विकासको जग हो । उनलाई समस्या आयो । उनले अब छड र डन्डीको पसल नै खोल्ने निधो गरे । लाइसेन्स २०४५ मा लिए । २०४६ देखि हाम्रो आइरन स्टिल चल्यो । अमेरिकन एम्बेसीले अरु कम्पनी छाडेर हामा लिएपछि सबै हाइड्रोपावर, ठूलाठूला आयोजनामा हामा नै लाग्ने भएपछि बनाएर नै नभ्याएको भन्दै थिए उनी ।
सोच संकुचित भयो भने कर्म पनि संकुचित हुन्छ । उनले कहिल्यै सानो सोच राखेनन् । हामाको कार्यसँगै उनको कार्य पनि बढ्दै गयो । उनी एसबीआई बैंकको अध्यक्ष, स्ट्यान्डर्ड चार्टड बैंकमा डाइरेक्टर, त्रिवि सिनेट सदस्य हुँदै अहिले नागरिक लगानी कोषको सञ्चालक समिति सदस्य छन् ।
जनसम्पर्क र इमानदारिता व्यापारका तेल र बत्ती हुन् । उनले जनसम्पर्कको तेलमा व्यापारको बत्ती बाले । साढे ३ करोडको व्यापार अहिले अर्बमा पुग्यो । छोरा राजनले उनको व्यापार सम्हालेका छन् । छोरी नम्रता र अनीता पनि आ–आफ्नो घर गइसके । आफैं कुनै दिन रोजगारी नपाएर छट्पटाएका बालकृष्णले आज लगभग ७ सयलाई उनले रोजगारी दिएका छन् ।
यो अपत्यारीलो कथा यथार्थ हो । टेकुमा उनकै कार्यालयमा कुराकानी गर्दा उनी जोडजोडले हाँस्थे । हिजोको दुःख सम्झेर केही छिन भावुक बन्थे ।
पत्याउँनै नसकिने यथार्थका पछाडिमात्र उनको लगनशिलता, इमानदारिता र पारदर्शिताको कुरा छ । एक ब्रिफकेसमा राखेको आफ्नो सानो बेलाको फोटो उनले देखाए । धेरै त्यस्ता डकुमेन्टहरू पनि । खानै नपाएर हिँड्ने उनी आज करोडौंको चेकमा हस्ताक्षर गरिरहेका छन् । सय रुपियाँको संकटमा पर्ने उनी आज अर्बको व्यापार गरिरहेका छन् । गाडी, बंगला, र व्यापारका कुरा सुन्दा लाग्छ । एक अद्भुत कथा सुनिरहेछु । कथाको रियल हिरोले आफ्नै अगाडि कथाभन्दा पनि यस्तो त होला र जस्तो लाग्ने । अचम्मै लाग्ने यथार्थ ।

 

Leave A Reply

Your email address will not be published.