आक्रमणमा परी मारिनेको सङ्ख्या ८४ पुग्यो
अमेरिका । संयुक्त राष्ट्रसङ्घले फ्रान्सेली सहर नाइसमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै विश्व समुदायसँग आतङ्कवादविरोधी अभियानलाई थप सशक्त बनाउनुपर्ने बताएको छ । राष्ट्रसङ्घका महासचिव बान कि मुनले शुक्रबार फ्रान्सको नाइस सहरमा दिनदहाडै भएको ‘बर्बर एवम् कायरतापूर्ण आतङ्कवादी हमला’ को निन्दा गर्दै आतङ्कवादीलाई कानुनी दायरामा ल्याउनका लागि विश्वको ध्यान थप आकृष्ट हुने बताउनुभयो ।
उहाँले यस घटनामा संलग्न समूह र आक्रमणमा सहभागी हमलाकारीलाई कानुनी दायरामा ल्याई पीडितप्रति न्याय दिलाउन राष्ट्रसङ्घको पहल रहने पनि महासचिव बानले ले बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस आक्रमणको निन्दा गर्दै यसलाई भयङ्कर आतङ्ककारी हमलाको सङ्ज्ञा दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ल पनि नाइस सहरमा भएको यस आतङ्ककारी आक्रमणको निन्दा गरेको छ ।
आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८४ पुग्यो
फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको छ । एकजना बन्दुकधारीले महोत्सव आयोजना भएकोे स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेका थियो ।घटनामा घाइते भएकामध्ये ५० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
फ्रान्सका राष्ट्रपति फास्वाँ अलान्दले फ्रान्सको बास्टिल डे अर्थात् राष्ट्रिय दिवसको दिनमा सो आतङ्ककारी आक्रमण भएको बताउनुभएको छ । यसअघि आक्रमणमा परी कम्तीमा ८० जनाको मृत्यु भएको र १८ जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली गृहमन्त्री बार्नार्ड क्याजेनुउभेले बताउनुभएको थियो । आक्रमणमा कैयौँ बालबालिका मारिएकामा छन् । घटनापछि राष्ट्रपति ओलन्दले फ्रान्समा तीन महिनाको सङ्कटकालको घोषणा भएको जानकारी दिनुभएकोे छ ।