पोखरा । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जसको नेतृत्वमा सहमति हुन्छ त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादीपछि नहट्ने धारणा राख्नुभयो ।
“संविधान कार्यान्वयन, जनताका भावनालाई सम्बोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहमतिको विकल्प छैनै उहाँले भन्नुभयो, “सहमति कायम गर्नका लागि माओवादी केन्द्रले पहल कदमी सुरु गरिसकेको छ ।”
दुई ठूला पार्टीबीचको सहमति एक वर्षअघि टुटेपछि नेकपा (एमाले)को नेतृत्वमा माओवादीलगायतका दल मिलेर सरकार बनेको स्मरण गराउँँदै प्रवक्ता भुषालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको विचार व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर नेपाल कास्कीका संयोजक दीपक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजकाजी गुरुङ, सल्लाहकार कोमलनाथ बराल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस सेन्टर प्रदेश नं ४ का संयोजक त्रिभुवन पौडेल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारीका अध्यक्ष माधव बराललगायतका वक्ताहरुले एकता अधिवेशनको शुभकामनाका साथै आफ्ना भनाइ राख्नुभएको थियो ।