काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी बर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजवाट तीन दिनसम्म पूर्वी र पश्चिमी भागमा भारी वर्षा हुने अनुमान गरेको छ । महाशाखाका अनुसार आज दिनभर नै मौसम बद्ली भई भोलिसम्म पानी पर्ने छ । बिहीबार बिहानैदेखि बंगालको खाडी र अरबी सागरबाट एकै पटक जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले यहाँको मनुसन थप सक्रिय भएको हो । हिजो रातीबाट मनसुन सक्रिय भएका कारण बर्षा भइरहेको हो । भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सर्वसाधारणलाई सचेत रहन आग्रह पनि गरेको छ ।
असार एक गते पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन तीन दिनमै देशभर फैलिएको थियो । महाशाखाका अनुसार जुन महिनामा केही भागमा औसतभन्दा बढी र केहीमा औसत वर्षा भएको छ । जुलाई भरी मनसुन सक्रिय रहने भएकाले धेरै भागमा भारी वर्षा हुने पूर्वानुमान छ । ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ ले पनि केही दिन अघि जुलाई पहिलो साता भारी वर्षासँगै देशैभरका नदीमा बाढी आउन सक्ने भविष्यवाणी गरेको थियो ।।
दार्चुला मृत्यु
भारी बर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । हाम्रा संवाददाताले जनाएअनुसार मुख्य नदी र खोलामा पानीको सतह बढेको छ भने केही स्थानमा बाढी र पहिरोले क्षति पु-याएको छ । पहिरोमा पुरिएर दार्चुलाको मालिकार्जुन गाविस–८ की अन्दाजी पच्चीस बर्षीया बसन्ती धामी र सर्मोली गाविस–४ का ७२ बर्षीय चन्द्रदेव पन्तको मृत्यु भएको छ । अपी नगरपालिका–१७ काकडामा पहिरोले घर पुरिँदा प्रेमसिंह महराकी श्रीमति बेपत्ता भएकी छन् । बाढीले काकडाखोलाको पक्की पुल बगाउँदा दार्चुलाबाट छुटेका सवारी साधनका यात्रु सडकमै अलपत्र परेका छन् । पुल छेउमा पार्किङ गरिएको से १ ज तीन एक दुई नम्बरको जीप र चार वटा पसल समेत बाढीले बगाएको छ । पहिरोकै कारण भारतसँग सीमा जोडिएको जौैलजिवी प्रहरी चौकी उच्च जोखिममा छ ।
यता, चितवनको माडी क्षेत्रमा पनि बाढीको खतरा औल्याइएको छ । छरछरे, कल्याणपुरलगायतका क्षेत्रमा बाढीले खतराको विन्दू पार गरेको हो । बर्षात्का बेला रिउ, बाँदरमुढे, मरोठजस्ता खहरे खोलाका कारण माडी क्षेत्र जोखिममा पर्ने गर्छ । चितई खोलामा आएको बाढीले सडक भत्काएपछि माडीका स्थानीयको आवत–जावत बन्द भएको छ । स्थानीय प्रशासनले खोला गाउँ पस्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । चितवनका अन्य क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
उता, महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ । नेपाल–भारत सीमाको बनबसा पुलमा चारपाङ्ग्रे सवारी सााधन सञ्चालनमा रोक लगाइएको छ । पहाडी क्षेत्रमा दुई दिनदेखि लगातार पानी परेपछि महाकाली नदीमा १ लाख ८५ हजार क्यूसेक पानी पुगेको हो । एक लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ । महाकाली तटीय क्षेत्रमा वाढी पस्ने सम्भावना औल्याउँदै प्रहरीले स्थानीयलाई सर्तक रहन सूचना जारी गरेको छ । त्यस्तै, दोदा, मनहरा, स्याली लगायत नदीमा समेत पानीको सतह बढ्दै गएको छ ।।
मुग्लिन पहिरो
लगातारको वर्षापछि डेढ दर्जन स्थानमा खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड बिहानदेखि अबरुद्ध छ । चारकिलो, पाँचकिलो, जलबीरे र भालुढुंगामा ठूला पहिरो खसेपछि विहान पाँच बजेदेखि सडक खण्ड अबरुद्ध भएको हो । बर्षा जारी रहेका कारण पहिरो पन्छाउन कठिन हुँदा हजारौ यात्रु बिचल्लीमा छन् । पहिरोका कारण चितवन भएर राजधानी भित्रिने र बाहिरिने ठूलो संख्याका सवारीसाधन रोकिँदा हजारौ यात्रु जोखिम क्षेत्रमा भोकभोकै बसिरहेका हुन् । गाईघाट, घुमाउने, जलबीरे र कालीखोला पहिरोको जोखिमयुक्त क्षेत्र रहेको मुग्लिन–नारायणगढ सडक निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार असार सुरु भएपछि झण्डै ६५ घण्टा यो सडक अबरुद्ध भईसकेको छ । ६ वटा सवारी साधन पहिरोमा परिएका छन् । यसैगरी, खहरेखोला नजिकै गुडिरहेको ट्रकमा ढुंगा खस्दा मुग्लिङबाट चितवनतर्फ जाँदै गरेको ना १ क एक आठ छ चार नम्बरको ट्रकका चालक उद्धब भुजेल घाईते भएका छन् । यता, धादिङको गल्छीमा पहिरो खस्दा गल्छी–त्रिशुली सडक खण्ड पनि अबरुद्ध भएको छ ।