नेपालले बिर्सेंको यो नेपाली बस्ती

चारदिशा , सम्बाददाता
भारतको उत्तरपूर्व राज्यको नागालैण्डमा करिव दुईसय पचास घरमा करिव दुईहजार नेपालीहरुको एकै ठाउँमा वसोवास रहेको छ । यो गाउँलाई सिंग्रिजन खोपानाला भिलेज भनेपनि नेपाली गाउँ भनेर बढी चिनिन्छ । नागालैण्डमा सबैभन्दा ठूलो नेपाली गाउँ हो यो । छरीएर रहेका नेपालीहरु नेपाली वस्तीमा खासखास समयमा भेटघाटमा आउँछन् ।
नागालैण्ड बन कार्यालयले श्रमिकका रुपमा नेपालबाट आएका नेपालीलाई सन् १९४८ बाट यहाँ व्यवस्थित रुपमा राखेको हो । यहाँ लगभग सबैजसो जिल्ला र सबैजसो जातीको वसोवास रहेको छ । सबैले नेपाली भाषा बोल्छन । तामाङ, मगर, नेवार लगायत कुनै पनि भाषा यहाँ बोलिदैंन । सन् १९५१ मा प्राथमिक सरकारी स्कूल स्थापना भएको यस ठाउँमा अहिले उच्चमाध्यमिक एउटा, प्राथमिक दुइटा स्कूल छन् । यहाँ पढाइको माध्यम अंग्रेजी र हिन्दी छ । नेपाली वस्ती भए पनि नेपाली भाषा पढाइदैंन ।
नेपालमा मानिने दशैं नैनै यहाँको सबैभन्दा ठूलो चाड हो । तिहार, तीज सबै मनाइन्छ । भानु जयन्ति विशेष ढंगले मनाइन्छ । यहाँ पनि जाती प्रथा निकै छ । भोजभतेरमा पनि अलगअलग भान्सा लगाइन्छ । यहाँ क्षेत्री वाहुनको विशेष प्रभाव छ ।
गाउँलाई एक खेल, बी खेल, सी खेल, डी खेलका रुपमा विभाजित गरिएको छ । दशैं तिहारमा साँस्कृतिक कार्यक्रम गरिन्छ, द्यौसी भैलो खेलिन्छ, युवाहरुबीचमा खेलको प्रतिस्पर्धा हुन्छ ।
यो गाउँमा ठूलो शिवमन्दिर छ । शिवरात्री मेला र बोलबममा यहाँ लाखौंको भीड लाग्छ । एउटा ठूलो अस्पताल छ । एउटा भेटनरी छ । वन कार्यालय यहाँ खारेज भइसके पनि नेपालीहरुको आआफ्नो व्यापार, व्यवसाय र सरकारी नोकरी छ । धेरैको नेपालमा सम्बन्ध र जायजेथा छ ।
यहाँको तजविजी मिलाउनका लागि गाउँको एकजना प्रमुख छानिएको हुन्छ । त्यसलाई गाउँ बूढा भनिन्छ । एक जना चेयर मेन हुन्छ, भीसीएम १२ जना हुन्छन । गाउँमा तिनीहरुले कमाण्ड गर्छन ।
करिव चारसय विघा जमिन रहेको यस ठाउँमा बढी धानखेती गरिन्छ । मकै, गहुँ, तोरी, आलस लगायत सबै यहाँ फलाइन्छ ।
यस गाउँबाट ठूलो वजार डिमापुर जान १२ किमी टाढा छ । यातायातको राम्रो सुविधा छ । हरेकको घरमा गाडी, मोटरसाइकल छ ।
नजिकै छेउछेउमा नागा बस्ती छ । उनीहरुले नेपालीलाई हस्तक्षेप गर्दैनन् । राम्रो सद्भाव देखाउँछन् । नागालैण्ड क्रिश्चियन भए पनि हिन्दुहरुको राम्रै सम्मान गर्छन ।
नेपाली वस्ती जान एउटा ठूलो खुकुरी चिन्ह अंकित गेट राखिएको छ । यहाँ उभिदां एउटा बहादुर र पौरखी नेपालीको आत्मसम्मान झल्कन्छ ।