भूकम्प प्रभावितको संवेदनामा खेलवाड गरिरहेको कांग्रेसको आरोप
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध संसदमा आवाज उठाउने भएको छ । भूकम्प प्रभावित जिल्लाका सांसद र सभापतिको आज काठमाडौंमा भएको भेलाले प्रभावितको मानवीय संवेदनामाथि सरकारले खेलवाड गरेको भन्दै त्यसबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने निश्कर्ष निकालेको हो । संसद बैठक असार १ गते बस्दै छ । कांग्रेसले एक बर्ष बित्दा पनि पीडितको अवस्था ज्यूँकात्यूँ रहेको, एमाले समर्थित गैर–सरकारी संस्थामार्फत एकपक्षीय रुपमा लगत संकलिन गरिएको, चौध प्रतिशतसँग मात्रै अनुदान सम्झौता गरिएको र सम्झौता भएकालाई पनि पहिलो किस्ता रकम उपलब्ध नगराइएको आरोप पनि लगाएको छ ।
भूकम्प प्रभावित उन्नाइस जिल्लाका सांसद र सभापति सहभागि भेलाले अनुदान रकम वितरण गरेर भूकम्प प्रभावितलाई राहत दिन सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्णरुपमा असफल भएको दावी पनि गरेको छ । भेलाका सहभागिले प्रभावितलाई दुई लाख रुपैयाँ अनुदान तत्काल एकमुष्ट उपलब्ध गराउन, जोखिमपूर्ण बस्ती स्थानान्तरणमा चासो दिन र बर्खाअघि नै प्रभावितलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने गरी सरकारको ध्यानाकर्षण गराउन नेतृत्वलाई सुझाव दिएका थिए ।