अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भोलिदेखि, २८ देशबाट प्रतिनिधि सहभागी
काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भोलि विहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । २५ सय ६०औं बुद्धजयन्तीको अवसर पारेर ‘लुम्बिनी नेपाल : द वर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ् बुद्धिज्म एन्ड वल्र्ड पीस’को नारासहित सरकारले वैशाख ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो ।
सोल्टी होटलमा बुधबार भएको पत्रकार सम्मेलनमा विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध सम्मेलन उद्घाटन गर्ने र विभिन्न २८ देशका चार सयभन्दा बढी प्रतिनिधि, बौद्धधर्मका गुरुहरु, वरिष्ठ मन्त्री, उच्च अधिकारीहरु सम्मेलनमा सहभागी हुने जानकारी दिइयो । सम्मेलनमा भगवान बुद्ध र बुद्धधर्मबारे २० भन्दा बढी कार्यपत्र प्रस्तुत् हुने जनाइएको छ । सरकारले यही जेठ ८ गते लुम्बिनीमा भगवान बुद्धको जन्म भएको हो भन्ने सन्देशसहित बुद्धजयन्ती पनि मनाउने तयारी गरेको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन चिनियाँ बौद्ध भिक्षुहरूको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । टोलीमा नेतृत्व चिनियाँ बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष मास्टर यिन सन् पनि रहेका छन् । हाइनान् प्रान्तका बुद्धिस्ट एसोसिएसनका अध्यक्षसमेत रहेका यि चिनियाँ कम्युनिस्ट पार्टीको क्वाङ्तोङ् प्रान्तका स्थायी समिति सदस्यसमेत हुन् ।
लुम्बिनी क्षेत्रको सुरक्षामा कडाइ
पच्चीसय ६०औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस नजिकिँदै गर्दा यस क्षेत्रको शान्ति सुरक्षा कडा बनाउनुका साथै अन्य तयारीलाई तीब्र बनाइएको छ । क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रमुख क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला र क्षेत्रीय प्रहरी प्रमुखसहितको सुरक्षा प्रमुखको टोली पनि लुम्बिनीमै खटिनु भएको छ ।
बुद्ध जयन्ती आउन तीन दिनमात्रै बाँकी रहँदा लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी तथा सुरक्षा प्रबन्ध मिलाउन लुम्बिनी आउनुभएका क्षेत्रीय प्रशासक कोइराला बुद्ध जयन्ती सम्पन्न नहुँदासम्म लुम्बिनी मै बस्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई सफल पार्नका लागि उहाँसहित क्षेत्रीयस्तरबाट सुरक्षा प्रमुखको टिम लुम्बिनीमा आएको हो ।
मङ्गलबार मात्रै पोखराबाट लुम्बिनी आउनुभएका क्षेत्रीय प्रशासकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा भैरहवामा बुद्ध जयन्तीको तयारीबारे जिल्लास्थित दलका प्रमुख तथा प्र्रतिनिधि, सामाजिक सङ्घ सस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतसँग समन्वय गरेको छ ।