काठमाडौं । एकीकृत नेकपा (माओवादी)ले विभाजित अवस्थामा रहेका सबै माओवादी घटकसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल अगाडि बढाउने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले माओवादी शक्ति विभाजित भएर रहँदा मुलुक समस्यामा परेको, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा समेत समस्या पैदा भएको भन्दै एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउने निर्णय गरेको हो । पछिल्लो दिनमा एमाओवादीले क्रान्तिकारी माओवादी, नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता गर्ने विषयमा छलफल चलाउँदै आएको छ ।
एकता प्रक्रियामा हालसम्म भएका छलफल र संवादका आधारमा थप गम्भीर छलफल गर्ने र शीघ्र निष्कर्ष निकाल्ने निर्णय बैठकले गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । ‘‘पार्टी एकता र धु्रवीकरणका निम्ति हाम्रो पार्टीले छलफललाई तीव्र पार्ने निर्णय गरेको छ, सार्थक निकास दिनुपर्छ भन्ने सहमति भएको छ’’ – महासचिव महराले भन्नुभयो ।
राष्ट्रिय एकताका लागि पहल गरिने
यस्तै एमाओवादीले प्रमुख राजनीतिक दलसँग राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि सार्थक संवाद गर्ने निष्कर्ष निकालेको छ । संविधान कार्यान्वयन, राष्ट्रिय समस्याको निरुपण एवम् मधेसवादी दलसँगको संवादलाई सहमतिमा ल्याउन एमाओवादीको भूमिका प्रमुख र प्रभावकारी हुने निष्कर्ष निकाल्दै सबै पक्षसँग निरन्तर संवाद गर्ने निर्णय गरेको महासचिव महराले जानकारी दिनुभयो ।
‘‘राष्ट्रिय सहमति र राष्ट्रिय एकता आवश्यक छ, त्यसका लागि सबै दलको सार्थक संवाद जरुरी छ भन्ने बैठकको निष्कर्ष छ’’ महासचिव महराले भन्नुभयो – ‘‘सबै पक्षको सहमतिका आधारमा मात्रै वर्तमान समस्याको समाधान हुन सक्छ ।’’सरकारमा रहेका दल र सरकार बाहिर रहेका दलसँग निरन्तर संवाद गरी राष्ट्रिय समस्याको समाधान गर्ने निष्कर्ष निकालिएको एमाओवादीले जनाएको छ ।