काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामालाई आज सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आग्रहमा विराज विष्टलाई निलम्बन गरिएपछि लामालाई उक्त पदमा नियुक्त गरिएको हो ।
सहायकमन्त्री विष्ट पदमुक्त
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाका साथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केही सांसदले भूकम्पपीडितलाई एकै किस्तामा अनुदान दिनुपर्छ भनेर मौसमी राजनीति गरेको टिप्पणी गर्नुभयो । उहाँले अघिल्लो सरकारले नै चार किस्तामा रकम दिने तय गरेकामा हाल तीन किस्तामा वितरण सुरु भएको जानकारी दिँदै यथार्थमा उभिएर राजनीति गर्न दलहरुलाई आग्रह गर्नुभयो ।
उहाँले अघिल्लो प्रधानमन्त्रीले साढे दुई महिनाको अवधिमा चिया, खाजा र भेटघाटमा रु दुई करोड ७४ लाख खर्च गरेको तर आफूले सात महिनामा रु ८४ लाखमात्र खर्च गरेको दाबी गर्दै सञ्चारमाध्यमलाई त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले पञ्चायत र लोकतान्त्रिक कालमा पनि उही व्यक्ति र प्रवृत्ति (उपप्रम कमल थापा) भन्ने टिप्पणीप्रति लक्ष्य गर्दै समय र परिस्थितिअनुसार व्यक्ति र प्रवृत्तिमा पनि परिवर्तन आएको बताउनुभयो ।