दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्न ओली सरकार असफल रहेको बताउनुभएको छ । तनहुँको रिसिङ रानीपोखरी गाविसस्थित सामुदायिक भवनको आज शिलान्यास गर्दै नेता पौडेलले मुलुकमा दिनानुदिन तस्करी, भ्रष्टाचार, महंँगी र कालोबजारी बढ्दै गए पनि नियन्त्रण गर्न नसक्नु वर्तमान सरकारको लाचारीपन हो भन्नुभयो ।
काँग्रेस सरकारमा जान नहतारिए पनि वर्तमान सरकारले गरेका गलत कामको भने प्रतिपक्षका रुपमा आफूहरुले प्रतिपाद गरिरहने पौडेलले बताउनुभयो । निर्वाचन क्षेत्र विकास समितिको रु १० लाख र रिसिङ गाविसका साथै अन्य सङ्घसंस्थाबाट प्राप्त रकम गरी रु एक करोडको लागतमा सो सामुदायिक भवन बन्न लागेको हो । यसैबीच नेता पौडेलले आज नै ‘सहयोगी हातहरु’ नामक संस्थाद्वारा साभुङमा आयोजित क्षमता अभिवृद्धि र नेतृत्व विकास कार्यक्रमको समेत उद्घाटन गर्नुभयो ।