काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नहुँदा प्राप्त उपलब्धि खतरामा पर्ने भन्दै कार्यान्वयनका निम्ति सबै दलबीच एकताको आवश्यकता औँल्याउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले संविधान जारी भएको लामो समयसम्म पनि त्यसको कार्यान्वयनबारे अहिलेसम्म कुनै ठोस काम हुन नसकेको भन्दै सबैलाई अधिकार सुनिश्चित गरेको नयाँ संविधान कार्यान्वयनका लागि आफूले विभिन्न दलका शीर्ष नेतासँग छलफल गरिरहेको बताउनुभयो ।
संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । वरिष्ठ नेता पौडेलले आन्दोलन वा सङ्घर्षभन्दा पनि सरकार, प्रतिपक्ष दल र मधेसी मोर्चा सबैले आ–आफ्नो कमजोरी स्वीकार गरी लचकताका साथ वर्तमान राजनीतिक अस्थिरताको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
“मुलुकमा महँगी, कालोबजारी र भष्ट्राचार मौलाउँदै गएको छ, त्यसको अन्त्य गर्नुको सट्टा अहिले सरकार ठिक गतिमा गइरहेको छैन”–उहाँले भन्नुभयो । लुकीछिपी वा छलछामभन्दा पनि सरकारले खसोखास ढङ्गबाट मधेसी समुदायको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । “प्रधानमन्त्रीले सुनुवाइ समिति छैन भनेर रामप्रसाद सिटौलाको नाम फिर्ता बोलाउनुभयो, अब न्यायाधीश र हिजो नियुक्त भएका राजदूतको सुनुवाइ कसले गर्ने हो”–उहाँले प्रश्न गर्नु भयो । न्यायाधीश र राजदूतको सुनवाईका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नेर प्रतिपक्षी दलको चित्त बुझाउनुपर्छ, नेता पौडेलले भन्नुभयो ।