नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभयो । सांसद आरजु राणाको ढाडमा समस्या देखिएपछि शल्यक्रिया गर्न देउवा दम्पती आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भारतमा रहँदा सभापति देउवाले भारतीय नेताहरुसँग उच्च राजनीतिक भेटघाट गरी मुलुकको समसामयिक राजनीतिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ ।
यद्यपि सभापति देउवाका स्वकीय सचिव भानु देउवाले त्यस्तो कुनै भेटघाट तय नभएको जानकारी दिनुभयो । भारतमा उपचार सकेर सभापति देउवा शनिबार स्वदेश फर्कनु हुनेछ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको सभापति र संसदीय दलको नेतामा हालैमात्र निर्वाचित हुनुभएका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमासमेत हेरिएको छ ।